मोहसिन अलि मियाँ
गोरखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद केन्द्र, प्रदेश हुदै जिल्ला तहसम्म आइपुगेको छ । गत हप्ता प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेसंगै नेकपामा विवाद चुलिएको मात्रै छैन, सम्भवत पार्टी फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।
नेकपामा पछिल्लो समय ओली र प्रचण्ड–माधव नेपालको समुहले केन्द्रदेखि जिल्ला तहसम्म फरक फरक भेला, प्रशिक्षण लगायतका गतिविधी गरिरहेका छन् भने पार्टी कार्यालयका बिषयमा समेत विवाद देखिन थालेको छ ।
गोरखामा शनिबार बेलुका प्रचण्ड–नेपाल पक्षले चाइनिजधारामा रहेको साविकको एमाले कार्यालयबाट मसाल जुलुस निकालेसंगै आइतबारदेखी दिनभर ओली पक्षका केहि नेता, कार्यकर्ताले सो कार्यालय कुरेर बसेका छन् ।
तर आइतबार दिनभर पाटेचौर स्थित साविकको माओवादी कार्यालयमा प्रशिक्षण कार्यक्रम चलाएका नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाले दुवै कार्यालय आफ्नो समुहको रहेको दावी गरेका छन् ।
‘पार्टी कार्यालयका विषयमा विवाद गर्नुपर्ने कुरै छैन, हामी संस्थापन समुह हो, पार्टीका कुनै पनि सम्पत्तिमा अरुले दावी गर्नै मिल्दैन’ उनले भने ‘नेकपाले पाटेचौरबाट पार्टी कार्यालय र चाइनिजधाराबाट नगर कार्यालयसहित जनवर्गिय संगठनको अफिस चलाउदै आएको छ, अब पनि त्यै हुने हो ।’

यता नेकपा ओली समुहकी केन्द्रिय सदस्य सम्झना देवकोटाले साविकको माओवादी कार्यालयबाटै आफ्नो समुहले पार्टी कार्यालय सञ्चालन गर्ने दावी गर्छिन ।
‘को संस्थापन, को मुलधारको भन्ने कुरा अदालतले फैसला गर्ने कुरा हो, कसैले दावी गरेर हुदैन’ उनले भनिन ‘हामीले फैसला कुरेका हौ, फैसला भएकै दिनबाट हामी पाटेचौरबाटै पार्टी कार्यालय चलाउछौ, यसमा विवादको विषय नै छैन ।’
साथै उनले कसैले बल प्रयोग गरेर पार्टी कार्यालय कब्जा गर्न खोजे आफ्नो समुहले त्यसको प्रतिकार गर्ने समेत बताइन ।
प्रचण्ड–नेपाल समुहले पार्टी कार्यालयमा दावी गर्नु औचित्यहिन रहेको नेकपा ओली समुहकै अर्का केन्द्रिय सदस्य प्रेम गुरुङको भनाई छ । तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका गुरुङले चाइनिजधारामा रहेको कार्यालय पार्टीको नभई मदन आश्रित स्मृति प्रतिष्ठानको रहेको बताएका छन् ।
‘यो भवन मदन आश्रित प्रतिष्ठानको हो, एमालेले प्रतिष्ठानसंग सम्झौता गरेर पार्टी कार्यालय चलाएको हो, हिजो पनि त्यै हो, भोली पनि त्यै हुने हो’ गुरुङले भने ‘अरुले दावी गर्नै मिल्दैन र दावी गर्ने आधार र नैतिकता पनि उहाँहरुसंग छैन ।’

यता प्रचण्ड–नेपाल समुहका विशेश्वर कट्टेलले भने प्रतिष्ठानको भवनलाई कोही कसैले आफ्नो समुहको पार्टी कार्यालय हो भन्नु तर्कसम्वत नहुने बताउछन् ।
‘पार्टी कार्यालयको बिवाद नै छैन, विवाद आउदापनि आउदैन’ उनले भने ‘मदन आश्रित स्मृति प्रतिष्ठानको भवनलाई आफ्नो हो भनेर भन्नु गलत हो, अहिले जसरी चलेको छ, त्यै अनुसार अघि बढ्छ, त्यो कुरा उहाँहरु (ओली पक्ष) ले बुझ्न जरुरी छ ।’