काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताएका छन् ।
नेकपाको प्रचण्ड–नेपाल समूहले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्चारकर्मीसँग प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री राईले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताए ।
अविश्वासको प्रस्ताव आफूले काम नगरेर वा नाजायक काम गरेर नभई नियोजित तरिकाले दर्ता गरिएको भन्दै उनले यो विषयमा सांसदहरु जानकार रहेकोले आफूलाई सामना गर्न अप्ठेरो नरहेको धारणा राखे ।
अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ, खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई पनि कमजोर बनाउने, अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत हुन नदिने भन्ने मनसायबाट दर्ता भएको उनको टिप्पणी छ ।
प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।