• आइतबार, साउन ३१ २०८३

एमसिसी देशको हितमा छ : ऊर्जामन्त्री रायमाझी


आइतबार, पुष १२ २०७७
945
Shares


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको हितमा रहेको दाबी गरेका छन्।

आइतबार सिंहदरबारमा पद बहाली गर्दै रायमाझीले एमसिसी देशको हितमा रहेको बताएका हुन्। ‘एमसिसीको विषयमा विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गर्छु,’ रायमाझीले भने, ‘एमसिसी देशको हितमा छ। लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी हामीले काम गर्नुपर्छ।’ उनले कर्मचारीलाई त्यसैअनुसार काम गर्न निर्देशन दिए।

‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ। तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ,’ उनले भने, ‘देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ।’

मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना रहेको बताए। सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई छ।

त्यस क्रममा ऊर्जा मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालयको काम कारवाहीबारे मन्त्री रायमाझीलाई जानकारी गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार