• आइतबार, साउन १० २०८३

गोरखामा संसद विघटनबिरुद्ध जसपाको विरोध सभा


बिहिबार, पुष ९ २०७७
860
Shares

गोरखा । संसद विघटनबिरुद्ध विभिन्न स्थानमा विरोध भइरहदाँ जनता समाजवादी पार्टी (जसपा) ले गोरखामा आन्दोलन गरेको छ । गोरखा सदरमुकाममा बुधवार आयोजित कार्यक्रममा जसपाका नेता कार्यकर्ताले संसद पुनस्र्थापना नगरे जनताले सडकबाट आन्दोलन चर्काउने चेतावनी दिए ।

जसपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमालले संसद बिघटन योजनावद्ध ढंगले भएको बताउँदै भने ‘मुलुकमा परिवर्तन नचाहेर प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरे ।’ पद र सत्ता लिप्त भएर संसद बिघटन गर्नु जनतामाथि कुठराघात भएको अर्का केन्द्रीय सदस्य रमेश पोखरेलले आरोप लगाए ।

पूर्व माओवादीहरुलाई लक्षित गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग गर्नेलाई अब फेरि जनतासँग भोट माग्ने अधिकार नहुने बताए ।

‘माफी मागेर आउनुहुन्छ भने संसद पुनस्र्थापना गर्न सहयोग गर्नुहुन्छ भने आउनुहोस’ नेकपा प्रति लक्षित गर्दै उनले भने ।

केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद हरिशरण आचार्यले ४० वर्ष शासन गर्ने सपना देखेको नेकपा एकता तीनवर्ष पनि नटिकेको भन्दै सरकारको चर्को आलोचना गरे । ‘कालो धनलाई सेतो बनाउने सरकारले प्रपञ्च रचेको छ’, उनले भने ।

नेकपाको राजनीतिक हैसियत समाप्त भएको बताउँदै उनले पूर्व मओवादीलाई इङ्गित गर्दै थपे ‘अमिलोको बोटमा सुन्तला खोजेर फल्दैन, अब हामीसँगै सडकमा आउनुहोस् ।’
केन्द्रीय सदस्य रोहिणीप्रसाद पाण्डेले नेपाल कम्यूनिष्ट पार्टीले जनतालाई छारो हाल्ने काम गरेको बताए । ‘दुई तिहाईको एजेण्डा लिएर जनतालाई भ्रम छ¥यो’ उनले भने । केन्द्रीय सदस्य गोपालबाबु श्रेष्ठ, युवा संगठनका जिल्ला अध्यक्ष मनबहादुर तामाङ, जिल्ला अध्यक्ष नारायण खत्री लगायतले सो विरोध सभामा धारणा राखेका थिए ।

खत्रीले जसपाको गोलबन्ध भएर संसद पुर्नस्थापनामा लाग्न, सरकारलाई दबाव दिन अनुरोध गरे ।
गोरखा सदरमुकामको हरमटारी चोकमा आयोजित बिरोध सभामा ग्रामीण भेगबाट नेता कार्यकर्ता सहभागी भएका थिए ।

समाजवादी पार्टीले निरन्तर सरकार बिरुद्ध आन्दोलन जारी राख्ने जिल्ला सचिव बिपिनचन्द्र ढकालले बताए । समाजवादी पार्टीले मसाल जुलुस लगायतका कार्यक्रम तय गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार