• आइतबार, साउन १० २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु


बुधबार, पुष ८ २०७७
845
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासमा १२ मध्ये तीन वटा रिटमाथि सुनुवाइ सुरु भएको सर्वोच्चले जनाएको छ।

कन्चन न्यौपाने, अमृत खरेल र अधिवक्ता लोकेन्द्र ओली लगायतले दर्ता गरेका छुट्टा छुट्टै रिटमाथि सुनुवाइ सुरु भएको हो।

अन्य ८ अधिवक्ताले पनि छुट्टै रिट दायर गरेका छन् भने नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतले रिट दर्ता गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरु राणाले आफ्नै एकल इजलासमा राखेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए।

ओलीको सिफारिस सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन्।

संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा एक दर्जन रिट दर्ता भएका छन्।

सबै रिटमा संसद् विघटन असंवैधानिक भएको भन्दै खारेज गर्न माग गरिएको छ। रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार