गोरखा । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम अलोकतान्त्रिक भएको गोरखाका नागरिक समाजको ठहर छ ।
नागरिक साझा सवाल गोरखाले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतिनिधी सभा विघटनको निर्णय असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक रहेको बताएको हो ।
संयोजक स्थानेश्वर दुवाडीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरबाट गरिएको प्रतिनिधी सभा विघटनको घटनाप्रति हामी गोरखा जिल्लामा कृयाशिल नागरिक समाज, संघसंस्थाका सदस्यहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।’
त्यस्तै साझा सवालले नेपाली नागरिकहरुको अभिमतलाई कुल्चदै गरिएको प्रतिनिधी सभाको विघटनको कार्यले देश प्रतिगमनतर्फ धकेलिएको भन्दै उक्त प्रतिगामी कार्यको गोरखामा कृयाशलि नागरिक समाजका तर्फबाट निन्दा र भत्सर्ना समेत गरेको जनाएको छ ।
साथै प्रतिनिधी सभा विघटन गर्ने कार्य सच्याई लोकतन्त्रको मूल्य र मान्यतालाई संस्थागत गर्न नागरिम समाजले माग गरेको संयोजक दुवाडीको भनाई छ ।
