काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।
बबरमहलमा मंगलबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको र केन्द्रीय समितिले अनुमोदन गर्ने बैठकमा सहभागी स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । उनका अनुसार प्रचण्ड र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ ।
स्थायी कमिटी बैठकलगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि प्रचण्ड–नेपाल समूहले थप रणनीति तय गर्ने जनाइएको छ ।