एकीकरणको ३२ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा फुट्ने भएको छ। मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै स्थान र समयमा केन्द्रीय कमिटीको बैठक बोलाएपछि नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका हो। दुवै पक्षले एकअर्कामाथि कारबाहीको तयारी गरेका छन्।
ओलीले मंगलबार बिहान ९ बजे बालुवाटार र प्रचण्डले दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।
ओली पक्षका कार्यालय सचिव ईश्वरी रिजालले बिहान ९ बजेको बैठकमा उपस्थितिका लागि केन्द्रीय सदस्यहरुलाई एमएमएसमार्फत जानकारी दिएका छन्।
त्यसैगरी प्रचण्ड पक्षका कार्यालय सचिव श्रीराम ढकालले दिउँसो १ बजे बैठकमा बोलाएका छन्।
यसअघि शनिबार र आइतबारको स्थायी कमिटीको बैठकमा ओली पक्षका सदस्यहरु अनुपस्थित थिए। सोमबार पनि सांसदहरुको छुट्टाछुट्टै भेला भएको थियो।
‘राजनीतिक रुपमा पुस १ गते नै पार्टी फुटिसकेको हो। कानुनी रुपमा विभाजन हुन भने बाँकी नै छ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘पहिलो अध्यक्षले बैठक बोलाउने हो। पहिलो अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ। उहाँले बोलाएको बैठक नै वैधानिक हो।’
उनले सो बैठकमा प्रचण्डपक्षीय नेताहरुमाथि कारबाही गरिने बताए।
अर्कोतिर, प्रचण्ड–माधव नेपाल पक्षले पनि मंगलबार हुने केन्द्रीय कमिटीबाट प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको तयारी गरेको छ। आइतबार भएको स्थायी कमिटीको बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। प्रचण्ड–नेपाल पक्षले मंगलबार दिउँसो एक बजेअघि नै स्थायी कमिटीको राखेर कारबाहीको ठोस प्रस्ताव तयार गर्ने छ।