गोरखा । पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रिय सहमतीको सरकार आजको आवस्यकता रहेको बताएका छन् । सोमबार गृहजिल्ला गोरखा आएका ढकालले पत्रकारसंगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन ।
‘देशलाई दुर्घटनाबाट बचाउन राष्ट्रिय सहमतीको सरकार आवस्यक छ’ नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष समेत रहेका ढकालले भने ‘नेकपाले मात्रै देश हाक्न सक्ने अवस्था रहेन, अब सबैको सहमतीबाट देश र संविधान कार्यान्वयनलाई मजबुत बनाउदै सहि दिशा दिन दिन जरुरी छ ।’
संसद विघटनको गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय अदुर्दर्शी रहेको बताउदै ढकालले प्रमुख दलवीचमा सत्ताको खिचातानी बढेर गएको आरोप लगाए । प्रधानमन्त्रीको कदमले राष्ट्रियता, सुरक्षा तथा संविधान कार्यान्वयनको बिषयमा गम्भिर प्रश्न उब्जाएको भन्दै उनले राजनीतिक निर्णयका आधारमा यो कदम सच्याइनुपर्नेमा जोड दिए ।
‘ओलीजीको यो कदम अदुर्दर्शी छ, यसले राष्ट्रलाई हित गर्दैन’ ढकालले भने ‘नेकपालाई जनताले विश्वास गरेर दिएको मतको कदर पनि भएन, यसलाई राजनीतिक निर्णयबाट करेक्सन गरिनुपर्छ ।’
संसद विघटनको निर्णय गलत रहेपनि ताजा निर्वाचनको जनादेशमा जाने बिषय स्वागतयोग्य रहेको उनको भनाई छ । संवैधानिक रुपमा संसद मृत भएकाले अब सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदलाई सहमतीबाट पुर्नस्थापना गर्नुको विकल्प नरहेको समेत उनले बताए ।
देश दुर्घटनाको भुमरीमा फस्ने सम्भावना रहेको तर्क गर्दै पूर्वमन्त्री समेत रहेका ढकालले प्रधानमन्त्री यो समस्याबाट भाग्न नपाइने बताएका छन् । सर्वदलिय बैठकबाट देशलाई निकास दिन आवस्यक रहेको समेत उनले बताए ।