• आइतबार, साउन १० २०८३

अब बीचमा बस्ने समय सकियो, छिट्टै निर्णय लिन्छुः गृहमन्त्री


सोमबार, पुष ६ २०७७
635
Shares

काठमाडौं । नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा (बादल)ले पार्टीमा जारी विवादमा अब बीचमा बस्ने समय नरहेको बताएका छन्।

सोमबार आफूनिकट नेताहरुसँग मन्त्रीनिवास पुल्चोकमा भएको छलफलमा गृहमन्त्री थापाले सो धारणा राखेका हुन्।

सरकारमा रहेका कारण पार्टी विवादमा प्रधानमन्त्रीको पक्षमा देखिँदै आएका थापाले संसद विघटनपछि भने कुनै धारणा सार्वजनिक गरेका थिएनन्। उनी प्रधानमन्त्री ओलीकै पक्षमा जाने चर्चा चलिरहेका बेला सोमबार आफ्नै निवासमा भएको भेलाका कारण दबाबमा परेका छन्।

भेलामा सहभागी सबैजसो नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई समर्थन गर्न नसकिने र उनलाई पनि समर्थन नगर्न आग्रह गरेपछि थापा थप दबाबमा परेका हुन्।

भेलामा सहभागी थापानिकट केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफूहरुले संसद विघटनको कदमलाई समर्थन नगर्न आग्रह गरेको बताए। उनले भेलामा उपस्थित सदस्यहरुले गृहमन्त्रीबाट तत्काल राजीनामा दिन समेत सुझाब दिएको बताए।

भेलामा सहभागी अधिकांश नेताहरुले थापालाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै सहकार्य गरेर अगाडि बढ्न सुझाब दिएको उनले बताए।

न्यौपानेका अनुसार भेलामा सहभागीहरुको सुझाबपछि गृहमन्त्री थापाले पार्टी विवादमा बीचमा बस्ने ठाउँ नरहेकाले छिट्टै कित्ता क्लियर गर्ने तयारीमा आफू रहेको बताएका थिए।

थापाको भनाइपछि नेताहरुले आज संसदसँग छलफल र भोलि केन्द्रीय समिति बैठक भएका कारण त्यसअघि नै आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार