• आइतबार, साउन १० २०८३

ताजा जनादेश मेरो रहर होइन : प्रधानमन्त्री


सोमबार, पुष ६ २०७७
710
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको उनले बताए ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले भने, ‘नचाहँदा नचाहँदै पनि यस्तो निर्णय गर्न बाध्य बनाइयो ।’

पार्टी सहमतिका आधारमा अगाडि बढ्नुपर्नेमा अल्पमत र बहुमतको खेलमा लागेको उनको आरोप छ । तत्कालीन एमालेको ६० र माओवादीको ४० प्रतिशत हुँदा पनि आफूले नै सहमतिका आधारमा जाने प्रस्ताव गरेको स्मरण गर्दै उनले भने, ‘उहाँहरु अल्पमत बहुमतको खेलमा लागेर अविश्वासको प्रस्ताव दर्ता गर्ने खेलमा लाग्नुभयो ।’

सभामुखले पनि अपराह्न साढे ३ बजे आएको अविश्वासको प्रस्तावलाई साढे १० बजेको समयमा दर्ता गरेर कीर्ते काम गरेको आरोप उनले लगाए ।

पार्टीको पहिलो अध्यक्ष र संसदीय दलको नेता आफू भएको भन्दै उनले अरुले बैठक बोलाउन नमिल्ने बताए । उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको भन्दै ओलीले भनेका थिए, ‘अहिले ६० प्रतिशत भएको एमालेको अध्यक्षलाई कारबाही गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा जग हसाउने प्रहसन गर्दै हुनुहुन्छ ।’

ओलीले मध्यावधि चुनावका लागि आफ्नो क्षेत्रमा तयारी गर्नसमेत सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टी एकीकृत रुपमा कि फुटेर चुनावमा जान्छ भन्ने उनले खुलाएनन् ।

तर भेलामा सहभागी सांसदहरुले प्रधानमन्त्री एवं अध्यक्ष ओली आफैंले पार्टी नफुटाउने दाबी गरे । सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भने, ‘उहाँले म पहिला हात हाल्दिनँ, मलाई हात हालियो भने भाँचिदिन्छु भन्दै आउनु भएको छ ।’

उनका अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सोमबार नै बोलाएको संसदीय दल र भोलि बोलाएको केन्द्रीय कमिटी बैठकमा ओली पक्षका नेताहरु सहभागी हुने छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार