काठमाडौँ । नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् ।
प्रचण्डले सोमबार बिहान विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने उल्लेख गरेका छन् ।
‘हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्त्विक असर पर्नेछैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’ राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्त्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रचण्डले ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई पार्टीको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्सर्ना गरिसकेको भन्दै उनलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय भइकेको पनि स्पष्ट पारेका छन् ।
