काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइ संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेका छन्।
सरकारले संसद विघटनको सिफारिस गरेसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाउन सर्कुलर जारी गरेको छ।
प्रहरी प्रवक्ता वसन्त कुँवरले मुख्यगरी राजधानीसँगै देशभरको सुरक्षा सतर्कता बढाइएको बताए।
संसद विघटनका लागि सरकारले सिफारिस गरेसँगै आइतबार विभागीय प्रमुखहरुसँग प्रहरी महानिरीक्षक शैलेश थापाले छलफल गरेका छन्।
छलफलमा अहिलेसम्म अन्यौल नै रहेको र विघटन भइहाले त्यसले सुरक्षा चुनौती बढ्ने, देशभर प्रदर्शन हुन सक्ने र असंवैधानिक गतिविधि बढ्ने सुरक्षा निकायको निस्कर्ष छ।
अवस्था हेरेर योजना बनाउँदै जाने तयारी प्रहरीको छ। मुख्य गरी ठूला सहरमा यस्ता चुनौती बढी हुने प्रहरीको ठहर छ। यस्तै अहिलेसम्म माथिल्लो निकायबाट कुनै निर्देशन नआएका कारण प्रहरीले त्यो पनि पर्खिरहेको बताएको छ।