काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं अध्यक्षमा ई. उमेश थानी विजयी भएका छन् ।
सिडेनको छैटौं अधिवेशनमा शेरबहादुर देउवा पक्षका थानीले रामचन्द्र पौडेल पक्षका ध्रुव थापालाई १५० मत पराजित गरेका हुन् ।
१८ सदस्यीय कार्यसमितिका लागि थानी र थापा प्यानलसहित निर्वाचनमा होमिएका थिए ।
शनिबार भएको निर्वाचनमा कुल २ हजार ८ भोट खसेको थियो । बागमती प्रदेशको निर्वाचन केन्द्र काठमाडौंमा १ हजार ६ सय ६४ र काठमाडौं बाहिरका अन्य ६ मतदान केन्द्रमा ३ सय ४४ मत खसेको थियो ।
थानीको पक्षमा काठमाडौं केन्द्रबाट १ हजार ४२ र थापाको पक्षमा ९ सय ९ मत परेको छ । त्यस्तै, काठमाडौं बाहिरको अन्य ६ केन्द्रमा थानी १७ भोटले अगाडि रहे ।
जितपछि अध्यक्ष थानीले निर्वाचन परिणामसँगै प्यानल सकिएको भन्दै सबैलाई साथ लिएर काम गर्ने बताएका छन् ।