काठमाडौँ — प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित भएपछि नेकपाको स्थायी समिति बैठक सुरु भएको छ।
अपरान्ह १ बजेका लागि बोलाइएको बैठकको एजेन्डाबारे ओलीले आपत्ति जनाएपछि बैठक तीन घण्टा ढिला सुरु भएको हो।बैठक अगाडि दुवै अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो ।
सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मनमुटाव बढेको थियो ।
प्रतिक्रियारुपमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका सांसदहरुले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय गएका थिए । दाहाल नेपालसमूहले अध्यादेश फिर्ताको माग गरेका छन् ।
ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो ।