• शनिबार, असोज १० २०८३

राष्ट्रपति र प्रधानमन्त्री दुबैलाई हटाऔँ : तरुण दल


बुधबार, पुष १ २०७७
1000
Shares


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन माग गरेको छ।

सरकारले मंगलबार ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको बताउँदै तरुण दलले बुधबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको हो।

‘सम्माननीय राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकजस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

लामो समयदेखि संसदलाई बन्धक बनाएर र उप–सभामुख पद खाली राखेर प्रधानमन्त्री ओलीले स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत रहेको तरुण दलको ठहर छ। अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न अनुरोधसमेत विज्ञप्तिमा गरिएको छ।

विज्ञप्तिमा कांग्रेसले सर्वसत्तावादका विरुद्ध सुरु गरेको सडक संघर्ष अझै सशक्त हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार