• आइतबार, साउन १० २०८३

गोरखामा काँग्रेसको गर्जन : ‘अब चुप लागेर बस्दैनौं’


सोमबार, मंसिर २९ २०७७
750
Shares

गोरखा । बर्तमान सरकारका कारण कोरोना महामारीका बेला पनि काँग्रेस सडकमा ओर्लिन बाध्य भएको नेताहरुले दाबी गरेका छन् । नेपाली काँग्रेसले सोमबार जिल्ला सदरमुकामा गरेको बिरोध प्रर्दशनमा बोल्दै काँग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ अब चुप लागेर बस्ने अबस्था नरहेको बताए ।

‘तिब्र रुपले कोरोना फैलिइरहेका बेला हामीलाई यसरी सडकमा आउने रहर थिएन । थाहा छ, हाम्रो कारणले पनि संक्रमण फैलन सक्छ,’ उनले भने, ‘तर बिडम्बना कोरोनाले मानिस मरिरहेका छन् । बर्तमान सरकार भष्ट्राचार र मोजमस्ती व्यस्त छ । त्यसैले हामी सडकमा नआउनुको बिकल्पै रहेन ।’

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपर्युक्त कार्यक्रम र योजना बनाउनुको सट्टा स्वास्थ्य सामाग्री खरिदमै अरबौं डिल गर्न मन्त्रीहरुलाई भ्याइनभ्याई भएको उनको आरोप छ । भष्टाचार विरुद्ध शुन्य सहनसिलता अपनाउने भन्दै मिडियाबाजी गर्ने प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफ्ना मन्त्रीको अनियमिता ढाक छोप गर्न व्यस्त रहेको नेता श्रेष्ठले बताए ।

‘भष्टाचारमा संग्लनहरुलाई राज्यको नियम कानून अनुसार कारवाही गर्नु पर्ने हो । तर उहाँ आफ्ना मान्छेलाई कसरी जोगाउने भन्ने कुरामा तल्लिन हुनुहुन्छ,’ नेपाली काँग्रेसका पूर्व सचेतक समेत रहेका श्रेष्ठले भने, ‘यो सरकार नेपालको इतिहासमा सबै भन्दा निरङकुश भ्रष्ट बनेको छ ।’

बतर्मान सरकार संघियता र गणतन्त्रलाई असफल बनाउने खेलमा समेत लागेको नेताहरुले आरोप लगाएका छन् । जसको परिणाम स्वरुप राजवादीहरु सलबलाएको उनीहरुको दाबी छ । नेपालमा फेरी राजसंस्था फिर्ता हुने दिवा सपना नदेख्न राजावादीहरुलाई काँग्रेसले चेतावनी दिएको छ ।

‘नेकपाको गलत नीति र वर्तमान सरकारका मनपरी कार्यशैलीका कारण जनताले दुःख भोग्नु परेको छ,’ अर्का केन्द्रिय सदस्य डाक्टर डिएन योगीले भने, ‘केपी ओली नेतृत्वको सरकारको मुख्य उपलब्धी नै ट्रान्सपरेन्सी इन्टरनेशलको रिर्पोटमा पहिलो हुनु हो । यस्ता धेरै रिर्पोटहरु आउन बाँकी छन् । ल अब भन्नुहोस्, यस्तो सरकारबाट जनताले के अपेक्षा गर्ने ?’

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारले गरेकोे लापरवाहीका विरोधमा कांग्रेसले सरकारविरुद्ध गोरखामा प्रर्दशन गरेको हो । पार्टी कार्यालय तिनधारेबाट सुरु भएको बिरोध जुलुस ठुलो आँगन, पदेली, बसपार्क, शक्तिचोक हुदै हरमटारीमा आएर सभामा परिणत भएको थियो । जुलुसमा सहभागी नेता कार्यकताहरुले बर्तमान सरकार विरुद्ध चर्काे नाराबाजी गरेका थिए ।

‘यो काण्डै काण्डको सरकार हो । एक पछि अर्को गरेर नयाँ काण्डहरु सार्वजानिक भइरहेका छन्,’ जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले भने,‘जनताले दुखः पाएको सरकारलाई के मतलब ? उहाँहरु त मोजमस्तीमा व्यस्त हुनुहुन्छ ।’

बर्तमान सरकारलाई खबरदारी गर्दै जनताको हकहितका पक्षमा आवाज उठाउन काँग्रेस सडकमा ओर्लिएको सभापती हरिबहादुर घलेले बताए ।

‘यो विषम परिस्थितीमा नेता कार्यकता र आम जनताले सरकार बिरुद्ध जुन आवाज बुलन्द पार्नु भएको छ,’ उनले भने, ‘त्यसका लागि गोरखा जिल्लाबासी सम्पूर्ण आमाबुबा दाजुभाई दिदिबहिनीलाई धन्यवाद दिन चाहान्छु । अब हामी चुप लागेर बस्ने अबस्था छैन । काँग्रेस सडकमा ओर्लिसकेको छ ।’

जनताको विपक्षमा उभिएका सबै शक्ति परास्त भएको भन्दै उनले बर्तमानमा सरकारलाई पनि काँग्रेस घुँडा टेकाएर छोड्ने दाबी गरेका छन् । बिरोध जुलुशमा सहभागी हुन गाउँगाउँ बाट काँग्रेस कार्यकताहरु सदरमुकाममा आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार