काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट जनता अक्क दिक्क भएको बताएका छन् ।
देउवाले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको बताए । उनले लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको पनि बताए ।
सोमबार मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको समेत बताए ।
उनले कम्युनिस्टहरुले एकदलीय सर्वसत्तावादी शासन लागू गरेको भन्दै कोरोनाको औषधी उपचार गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
उनले कोरोनामा पनि घुस खाने काम सरकारका जिम्मेवार व्यक्तिहरुले गरेको तथा हत्या र बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको बताए ।
उनले आफुले चुनावताका कम्युनिस्टले जिते रुन पनि नपाइने भनेको प्रसंग कोट्याउदै अहिले त्यसवेलाको भनाई प्रमाणित भएको दावी गरे । उनले कोरोना नियन्त्रण गर्न प्रधानमन्त्री ओलीलाई विनाशर्त सहयोग गर्न तयार रहे पनि काम नगरेको बताए।