• आइतबार, साउन १० २०८३

प्रधानमन्त्री ओली नाङ्गै सडकमा हिँडिरहनु भएको छ : सांसद थापा


सोमबार, मंसिर २९ २०७७
810
Shares


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडिराखेको आरोप लगाएका छन्।

आज सरकारविरूद्ध कैलालीमा कांग्रेसले गरेको प्रदर्शनमा थापाले भने, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ।’

प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने प्रचण्ड र माधव नेपाल पनि नाङ्गै हिँडिराखेको उनको भनाइ छ।

‘प्रधानमन्त्री ओलीलाई कहिले अगाडि त कहिले पछाडि बोक्दा उहाँहरूले आफू पनि नाङ्गिएको थाहा पाउनुभएन,’ उनले भने।

सांसद थापाले ओली सरकारका पालामा भ्रष्टाचार बढेको बताए। भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने कुरा पनि उनले बताए।

उनले प्रधानमन्त्री ओली असफल भइसकेको दाबी गरेका छन्।सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्।

किसानले मल नपाएको र ऋण लिएर हजारौं युवाले गरेको व्यवसाय संकटमा परेका बेला पनि सरकारले सहयोग नगरेको थापाको भनाइ छ।

सुदुरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्रीले जनअपेक्षाअनुसार काम नगरेको पनि उनले बताएका छन्।

उनले आफूहरू सरकारलाई खबरदारी गर्न सडक प्रदर्शनमा उत्रिएको थापाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार