काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
मंसिर २१ गतेको बैठकले आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय गरेको थियो। तर, बैठककै दिन बिहान बैठकस्थल परिवर्तन भएको महासचिव विष्णु पौडेलले जानकारी दिए।
एक हप्ता अघिबाट सुरु भएको नेकपा स्थायी समितिको दोस्रो दिनको बैठक बालुवाटारमा सुरु भएको हो।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी समितिका सदस्यहरु सहभागी छन्।
यस अघिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनलाई सहभागी गराउन बैठकलाई आजसम्म स्थगित गरिएको हो।
आजको बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ। पूर्व सांस्द र पूर्व राजदूत समेत रहेका लामाको कोरोना संक्रमणबाट मंसिर २४ गते निधन भएको थियो।
यसअघिको बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र आरोप पत्रहरु स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको थियो।