काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका पदाधिकारी नियुक्तिको लागी संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक डाकिएको बालुवाटार स्रोतले जनाएका छन्।
बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने स्रोतले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् भने लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन्।
ती पदहरुमा कसलाई नियुक्ति गर्ने भन्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति जुटिनसकेको र सत्तारुढ दलभित्रै पनि प्रधानमन्त्री ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समेत समझदारी बनिनसकेको बताइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद्को बैठक डाकेका छन्।
अहिले बिभिन्न संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन्।