• आइतबार, साउन १० २०८३

साझा र विवेकशील पार्टीबीच पुनः एकता


बुधबार, मंसिर २४ २०७७
760
Shares

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकता घोषणा भएको छ।

दुई वर्षअघि फुटेका दुबै पार्टीबीच बुधबार भर्चुअल कार्यक्रम गरेर एक भएको घोषणा गरिएको हो। एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन्।

एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ। नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य रहने छन्।

२०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो। सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए।

तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो।

यसबीच विवेकशीलको नेतृत्वमा पाण्डे निर्वाचित भएपछि यी दुई दलबीच पुनः एकिकरणको प्रक्रिया सुरु भएको थियो।

गत असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए। सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो।

कार्यदलले दुई संयोजक रहने गरि प्रतिवेदन दिए पनि त्यसको चर्को विरोधपश्चात एक अध्यक्ष र एक संयोजक रहने गरी पार्टी एक भएका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार