काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वैधानिक’ भोटमात्र गने आफूले जित्ने दाबी गरेका छन्।
६ राज्यमा मतगणना जारी रहेका बेला शुक्रबार ट्विट गर्दै ट्रम्पले ती राज्यहरूमा अवैधानिक मत खसालिएको दाबी गरेका छन्।
‘वैधानिक भोटमात्रै गने अमेरिकाको राष्ट्रपतिमा मैले सजिलै जित्छु। कुनै पनि रूप र ढंगबाट पर्यवेक्षकहरूलाई उनीहरूको काम गर्न अनुमति नदिइएको बेलामा खसेका मतलाई अवैधानिक मान्नुपर्छ। र अमेरिकी सर्वोच्च अदालतले निर्णय गर्नुपर्छ,’ ट्रम्पले भनेका छन्।
डेमोक्र्याटहरूले राष्ट्रपति जित्नमात्र होइन सिनेटमा बहुमत पुर्याउन पनि विभिन्न उपाय लगाइरहेको ट्रम्पको आरोप छ।
यसअघि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै विभिन्न राज्यमा मुद्दा हालेका थिए।
अहिलेसम्म उनका प्रतिष्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले २५३ इलेक्टोरल कलेज मत पाएका छन् भने ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन्। अब पेन्सलभेनिया (२०), नर्थ क्यारोलाइना (१५), जर्जिया (१६), एरिजोना (११), नेभडा (६) र आलस्का (३) को अन्तिम परिणाम आउन बाँकी छ।
यी राज्यहरूमध्ये नेभडा र एरिजोनामा बाइडेनको अग्रता छ भने बाँकी चारमा ट्रम्प अगाडि छन्। बाँकी रहेकामध्ये ठूलो राज्य पेन्सलभेनियामा ट्रम्प केही हजार मतले मात्र अगाडि छन् भने जर्जियामा पनि उनको मतान्तर निकै झिनो छ।
अमेरिकामा कसले राष्ट्रपति जित्छ भन्ने टुंगो लाग्न अझै केही घन्टा कुर्नुपर्ने देखिन्छ।
डेमोक्र्याटहरूले भने विभिन्न माध्यमबाट खसेका सबै मत गणना हुनु पर्ने बताइरहेका छन्।