• आइतबार, साउन १० २०८३

भारतीय सेना प्रमुखको औपचारिक कार्यक्रम सुरु


बिहिबार, कार्तिक २० २०७७
810
Shares


काठमाडौं । तीनदिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भ्रमणका औपचारिक कार्यक्रम सुरु गरेका छन्।

बिहीबार बिहान सैनिक मञ्चको वीर स्मारिकामा पुष्पगुच्छा अर्पण गरेका नरवणे त्यसपछि सैनिक मुख्यालय पुगेका छन्।
जंगी अड्डामा उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको विशेष निमन्त्रणामा नेपाली सेनाको महारथीको सम्मान ग्रहण गर्न नरवणे बुधबार नेपाल आएका हुन्। बिहीबार दिउँसो शीतल निवासमा उनलाई महारथीको सम्मान दिइँदैछ।

त्यसअघि उनले जंगी अड्डामा निरीक्षण तथा प्रधानसेनापति थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार प्रधानसेनापतिसँगको छलफल लगत्तै नेपाली सेनाका उच्च अधिकारीहरुसँग छोटो भेटघाटको कार्यक्रम रहेको छ।

भेटघाट सम्पन्न भएपछि उनले नेपाली सेनालाई सहयोग स्वरुप चारवटा एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन्।

त्यसपछि नेपालस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाट कार्यक्रम गर्ने र दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ।

त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाट गर्नेछन्।

शीतल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधानसेनापति थापाले रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजसँगै बिहीबारको कार्यक्रम सम्पन्न हुनेछ।

शुक्रबार बिहान उनले आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनपछि दूतावासमा फर्किएर केही भेटघाट गर्नेछन्।

शुक्रबार दिउँसो रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने र मौसम अनुकुल भएमा माउन्टेन फ्लाइट गर्ने समेत तयारी नेपाली सेनाले गरेको छ।

शुक्रबार नै उनी स्वदेश फर्किनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार