काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवादका विषयमा चुप पनि नबस्न र व्यक्तिगत गालीगलौजमा पनि नउत्रिन आग्रह गरेका छन्।
मंगलबार सामाजिक सुञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले यस्तो आग्रह गरेका हुन्। उनले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गर्न समेत आग्रह गरेका छन्।
‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं। तैं चुप मैं चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं’, प्रवक्ता श्रेष्ठले लेखेका छन्।
उनले सल्लाह गरेर पार्टी अलग–अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भए पनि सही नभएको बताएका छन्।
उनले व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही भएको भन्दै पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न आग्रह गरेका छन्।
प्रवक्ता श्रेष्ठले पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भ्रष्ट पुँजीवादी पार्टी बन्न पनि नदिन आग्रह गरेका छन्।