प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैंको उपलक्ष्यमा ट्विट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा भारतले अतिक्रमण गरेको भूमि नसमेटिएकाे पुरानाे नक्सा रहेकाे भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ।
प्रधानमन्त्रीले ट्विट गरेकाे शुभकामना पाेस्टरमा प्रयोग गरिएकाे निशान छापमा राखिएको नेपालको नक्सामा लिम्पियाधुरा नै नरहेको भनेर भ्रम छर्न खोजिएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ प्रेस नोट जारी गरेका हुन्।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैंको उपलक्ष्यमा ट्विट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेको प्रेस नोटमा भनिएको छ, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक हो। यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रस्ट देख्न सकिन्छ। डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्छु।’