–कुशल खड्का
हेरक वर्ष आश्विन सुक्लपक्षको प्रतिपदाबाट सुरु हुने नेपालीहरुको महान् चाड बडा दसैँ यो बर्ष पनि शनिबार “घटस्थापन” बाट सुरु भइसकेको छ ।
यतिखेर रोजीरोटी, व्यपार–व्यसाय, शिक्षा दिक्षाको अवसरका लागि सहरिएका मानिसहरु गाउँ फर्कने जर्मर्को गरिरेका छन् ।
मान्यजन, आफन्तजन बाट आर्शिवाद आदन –प्रदान गर्न होस् या साथीभाई, इष्टमित्र संग भेटघाट गर्न होस् देश–विदेश, प्रदेशमा रहेका सबै नेपालीहरु आफ्नो गाउ फर्किदैछन् ।
त्यसैले त दसैँ एक चाड मात्रै नभई हर्ष, उल्लास पर्व समेत रहेको जानकारहरु बताउदछन् ।
तर यसपालिको दसैँ भने गएका बर्षहरुको जस्तो उल्लासमय नहुने प्रष्ट देखिन्छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि ६ महिना निरन्तर देश ब्यापी लकडाउन भयो ।
कहिले पूर्ण त कहिले आंशिक रुपको लकडाउनले सबै आर्थिक–सामाजिक गतिविधिहरु सबै ठप्प हुन पुगे । धेरैले रोजेरोटी गुमाए भने थोरैले आधि मात्रै तलब पाएका छन । अझ भनौ, प्राय सबै मानिसहरु आर्थिक चपेटामा परेका छन ।
केहि इलाइट वर्ग बाहेक सामान्य अबस्थामा त चाडपर्ब मनाउन धौ–धौ पर्ने नेपालीहरुलाई एकातिर दसैँ खर्चको त पिर छदैछ अर्कोतिर कोरोनाको त्रास पनि उत्तिकै बढेको छ. ।
कोरोनाबाट संक्रमण हुने र मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । सुविधा सम्पन्न भनिने देशको राजधानी काठमाडौँमा पनि आइसोलेसन, भेन्टीलेटरको जस्ता बिरामी सैयाको अभाब देखिन थालीसकेको छ ।
यति मात्रै नभएर स्वास्थ्य मन्त्रालयका प्रवक्ताको कहिले “ढल्ने लागे मात्रै अस्पताल आउनुस्” त कहिले “अब सरकारले निःशुल्क उपचार गर्न सक्दैन” जस्ता गैर–जिम्मेवारीपूर्ण अभिव्यक्तिले मानिसहरु निकै त्रासिक बनेका छन् ।
भलै, सरकारले सुरक्षाको उपाय अपनाउदै यथास्थानमा बसेर दसैँ लगायतका चाडपर्व मनाउन आग्रह गरेतापनि व्यवहारमा कार्यावन्यन हुन भने सकेको छैन । बसपार्कमा टिकट काट्नेको दृश्य हेरौ या बजारमा किनमेलका गर्नेको, भिडभाड अझ बाक्लिदै गएको छ । न त भौतिक दूरी नै कायम भएको देखिन्छ न त मास्क, सेनिटाईजरको प्रयोग नै ।
स्वास्थ्य सुरक्षाका प्रोटोकल नमान्ने र यसरी नै जथाभावी गर्दै जाने हो भने दसैँ दशा बन्ने निश्चित भएको कोरोना लगायत अन्य सरुवा रोगमा काम गर्ने डाक्टरहरु बताउदछन । सबैको मनमा प्रश्न पनि उठन थालेको छ ।
कतै सहरको कोरोना गाउ –गाउ सम्म पुग्ने त होइन ? हामी बइयस्क संक्रमणको शिकार नबने पनि माध्यम बनेर बा–आमा तथा बाल–बच्चालाई सार्ने त होइननौ ? यसको एउटै जवाफ छ – परिस्थिति अनुकुल नभए सम्म हामी सबैले सावधानी अपनाउन जरुरी छ ।
होसियार हुनै पर्छ । यस बर्षको दसैँ यथास्थापनमा बसेर मनाउनु पर्छ.। दसैँ कसैको पनि दशा बन्नु हुदैन । आशा गरौ, नबनोस् पनि ।