काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विश्वभर महामारीको रुपमा फैलिरहेको (काभिड— १९) कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न माग गरेको छ।
सरकारले गरेको कोरोना उपचार खर्च आफैंले व्यहोर्नुपर्ने निर्णय सच्याउन कांग्रेसले माग गरेको हो। कोरोना महामारीबाट जनता जोगाउन सरकार असफल भइसकेको प्रमाणित भएको कांग्रेसको भनाइ छ।
‘सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई कांग्रेसले अत्यन्तै गैरजिम्मेवार व्यवहारका रूपमा लिएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्।
संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरूप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने शर्माको भनाइ छ।
‘सर्वोच्च अदालतले केही दिन अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ,’ कांग्रेसले भनेको छ।
उपचारको दायित्वबाट पन्छिएपछि ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्दत रहेको पुष्टि भएको कांग्रेसको भनाइ छ।