काठमाडौं । दिवंगत नेकपा सांसद सानु पहाडीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
सभामुख अग्नि सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । यसैगरी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा बुधबार निधन भएको थियो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी पहाडी २०३६÷०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् ।
ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् ।