सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
सोमबार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले पार्टी एकताको स्प्रिटबाहिर गएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठिक नभएको र सो प्रस्ताव फिर्ता गर्न निर्देशन दिन आग्रह गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णालीमा प्रदेश सरकारमा जे भएको छ त्यो पार्टी एकता र स्थायी कमिटीका बैठकको भावना विपरित भएको भन्दै मुख्यमन्त्रीविरुद्ध भएको प्रस्ताव फिर्ता हुनुपर्ने धारणा राखेका थिए।
भेटमा प्रधानमन्त्री ओलीले पनि कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध जे प्रस्ताव आएको छ त्यो ठिक नभएको बताएको प्रचण्डनिकट एक नेताले जानकारी दिए।
बिहान ९ बजेर ४० मिनेटबाट दुवै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो।
प्रचण्डले कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे अन्य प्रदेशमा पनि त्यस्तै गतिविधि देखिने र यसले एकतामा समस्या पार्ने कुरामा सचेत रहनुपर्ने बताएका थिए।
आइतबार कर्णाली प्रदेशमा आफ्नै पार्टीका १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलमा पेस गरेपछि नेकपाभित्र नयाँ खालको विवाद देखिन थालेको छ।
कर्णाली प्रदेश सभामा नेकपाको कुल ३३ सिट रहेको छ। जसमध्ये २० सिट पूर्वएमाले, १३ सिट पूर्वमाओवादी समुहको छ। पूर्वएमाले मध्ये ओली निकट १२ र नेपाल निकट ८ सांसद रहेका छन्।