पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन्।
भट्टराईले पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै छानविनको माग गरेका छन्।
‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्।
केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्कमल दाहालले ९ अर्ब बाँडेर खाएको भट्टराईले बताएका थिए।
उक्त खबर सामाजिक सञ्जालमा बाहिरिएपछि कांग्रेसले आइतबार विज्ञप्ति निकालेर भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको हो।
प्रवक्ता विश्वप्रकाश शर्माले देउवामाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्।
भट्टराईले बूढीगण्डकीमा ९ अर्ब बाँडेर खाएको र त्यसको प्रमाण चाहिए दिन आफू तयार रहेको गोरखामा बताएका थिए।