काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पुर्याइएको छ।
पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो।
राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समिति विस्तार भएको जानकारी दिएको हो । पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्य समिति विस्तार गरिएको राप्रपाले जनाएको छ ।
एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ ।
सो पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।