• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : डाक्टर केसीसँग वार्ता नगर्ने बरु कात्रो पठाउने तयारी हो ?


बुधबार, असोज २१ २०७७
700
Shares


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनसनरत डा. गोविन्द केसीका जायज मागलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

प्रवक्ता शर्माले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसी अनसन बसेको २४ औँ दिन पुग्दासमेत सरकारले वार्ताका लागि समितिसमेत गठन नगरेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरेका छन्।

‘प्रधानमन्त्रीलाई गम्भीर प्रश्न’ शीर्षकको उक्त विज्ञप्तिमा प्रवक्ता शर्माको प्रश्न छ, ‘ डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?’

प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको लोकतन्त्रमाथिको प्रतिवद्धतामाथि समेत प्रश्न उठाएका छन्। उनले कुनैबेला माओवादी जनयुद्धको कटु आलोचना गर्ने प्रधानमन्त्री ओली अहिले शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार गर्ने अवस्थामा आइपुगेको बताएका छन्।

‘अनसनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि—लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छरु,’ शर्माको प्रश्न छ।

शर्माले कांग्रेसको पालामा डा. केसी अनसन बस्दा वार्ता गरिएको र कयौं माग पूरा गरिएको पनि उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेसको पालामा डा. केसी अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए। चाहे श्री सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या श्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवादमार्फत उहाँका माग पूरा गरिए’, विज्ञप्तिमा भनिएको छ’, ‘तर, यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन। सत्याग्रहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेका छन्।’

सत्याग्रहीलाई दुर्व्यवहारदेखि सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेको उनले बताए।

केसीको स्वास्थ्य अवस्था जटिल बनेको शर्माको भनाइ छ।

‘डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू। हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

कांग्रेसको विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार