सरकारले काठमाडौँमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम उच्च रहेको बताउँदै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।
अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले देशका अन्य जिल्लामा कोरोना प्रकोप नियन्त्रण हुँदै गए पनि उपत्यका उच्च जोखिममा रहेको बताए।
दैनिक थपिने संक्रमितमा आधाभन्दा बढी उपत्यकाका रहेको बताउँदै उनले उच्च सतर्कत अपनाउन आग्रह गरेका हुन्।
मन्त्री ज्ञवालीले ४० लाख भन्दा बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने थप जोखिम बढ्ने बताए।
मन्त्री ज्ञवालीले दशैँ, तिहार, छठ लगायतका ठूला चाडबाड नजिकिँदै गरेका कारण पनि विशेष सतर्कता उपनाउन आग्रह गरे। कोरोनाका कारण जेष्ठ नागरिक उच्च जोखिममा रहेको भन्दै उनले चाडबाडमा विशेष ख्याल गर्नुपर्ने बताए।
काठमाडौंबाट चाडपर्व मनाउन गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनले बताए।