काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
मंगलबार (आज) बस्ने प्रदेश सभा बैठकमा राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूचि छ । प्रदेशसभामा सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको हो ।प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए ।
उक्त प्रस्तावमाथि प्रतिपक्षी दलहरुको विरोधका बीच सोमबार छलफल भएको र सांसदहरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दिइसकेका छन् । प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुई तिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ ।
नेकपाका ६१ सांसद छन् । ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी तोकिनेछ । दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ । प्रदेशसभाको बैठक दिउँसो १२ बजे बस्ने छ ।