गोरखा । गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङले बर्षातका कारण अवरुद्ध बनेका कच्चि सडकहरु मर्मत गर्न सरकार समक्ष माग गरेकी छिन । बुधबार गण्डकी प्रदेश सभाको विशेष समयमा बोल्दै साँसद गुरुङले बाढी पहिरोका कारण महिनौदेखि अवरुद्ध बनेका गोरखाका कच्चि सडकहरु खुलाउन माग गरेकी हुन ।
सडक अवरुद्ध हुदा ग्रामिण बस्तीका नागरिकको जनजिवन प्रभावित बनेको भन्दै तत्काल मर्मत गरी सडक खुलाउन र यातायात सञ्चालन गर्ने वातावरण बनाउन गण्डकी प्रदेश सरकारलाई अनुरोध गरेकी हुन ।
त्यस्तै उनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ को तिनखण्डेमा बर्षातका कारण जमिन फाटेकाले ७० घर उच्च जोखिममा परेकाले तत्काल भुगर्भसहितको टोलीबाट अनुगमन गराई विकल्प खोज्न माग गरेकी छिन ।
बुधबारको सँसदमा बोल्दै उनले प्रदेश सरकारबाट सञ्चालन गरिएका योजनाहरु बिभिन्न बाहानामा अलपत्र बन्दै आएकाे प्रति असन्तुष्टी ब्यक्त गर्दै अबका दिनमा त्यस्ताे वातावरण आउन दिन नहुने तर्क गरिन ।
यसैगरी सडक कालोपत्रे गर्ने लगायतका काममा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मजदुर झिकाउने र ठेकेदारलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन ।
गोरखा र धादिङको सिमानामा निर्माण हुन लागेको बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा गाेरखाका ४२ सहित ६० वटा सामुदायिक वन डुवानमा पर्ने र उपभोक्ताहरुको विचल्ली पर्ने अवस्था रहेकाले तत्काल समस्या हल गर्दै आयोजनाको काम अघि बढाउन समेत उनले माग गरेकी छिन ।
नेपाली काँग्रेसबाट समानुपातिक तर्फबाट साँसद बनेकी गुरुङले कोभिड १९ का प्रभावका कारण रोजगारी गुमाएकाहरुलाई उचित रोजगारीको अवसर सृजना गर्दै समस्या हल गर्न सरकार समक्ष माग गरेकी छिन ।