गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी गाेरखाले काेराेना भाइरसकाे प्रतिकार्यमा प्रभावकारी काम नभएकाे भन्दै तिनै तहका सरकारलाई ध्यानाकर्षण गराएकाे छ ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा गाेरखाले कोभिड १९ को महामारीका बेला महामारी नियन्त्रण भन्दा पनि सरकार भ्रष्टाचारमा चुर्लुम्म भएकोप्रति भन्दै आफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।
जसमा क्वारेण्टाइन, आइसोलेशन अव्यवस्थित भएको, संक्रमितलाई यथोचित व्यवहार नगर्ने, गुणस्तरहीन सेवा प्रबाह गरिएको लगायतका आरोप राप्रपा गोरखाले लगाएको छ ।
कोरोनाको रोकथामको बिकल्प बन्दाबन्दी नभएको जान्दाजान्दै पनि हचुवाका भरमा जनतालाई मार पर्ने गरी बन्दाबन्दी गरिएको भन्दै राप्रपाले बन्दाबन्दीलाई अब्यबहारिक, निरर्थक र गलत अस्त्र भनेको छ ।
त्यस्तै राप्रपाले जिम्मेवार ढंगले कोरोना व्यवस्थापनमा लाग्न र भ्रष्टाचारी प्रवृत्ति अन्त्य गर्न तिनै तहका सरकारलाई सुझाव समेत दिएको छ ।
पार्टीका अध्यक्ष शंकर अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा राप्रपा र राप्रपा संयुक्त एकीकरण भएपछि भातृ संगठनको पनि समायोजन तयारी भएको जनाएकाे छ । सो पार्टीको गोरखा जिल्ला समितिले आउँदो २१ गतेभित्र भातृसंगठन समायोजन गर्ने समेत बताएकाे छ । जसका लागि असाेज २१ गते संयुक्त बैठक समेत आह्वान गरिएकाे बताइएकाे छ ।
