गण्डकी प्रदेश सरकारले मन्त्रीमण्डल हेरफेरको तयारी गरिरहेको छ । संघीय सरकारभन्दा पहिले गण्डकी प्रदेश सरकारले प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी गरेको थियो ।
तर, नेकपाको आन्तरिक विवादको कारण गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको काम रोकिएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
हेरफेरको काम अन्तिम चरणमा पुगेको भए पनि हचुवाको भरमा मन्त्रीहरुलाई हटाउने थप्ने भन्दा पनि कार्य मूल्याङ्कनको आधारमा जिम्मेवारी हेरफेर गरिने मुख्यमन्त्री गुरुङले बताए ।
अहिले ६ जना मात्र मन्त्रीहरु रहेकाले केही मन्त्रालयहरु गाभिएका कारणले नतिजा आउन नसकेको गुरुङले बताए । उनले मन्त्रालय विस्तार गरेर १० मन्त्रालय बनाउने तयारीमा रहेको पनि बताए । मुख्यमन्त्री गुरुङका अनुसार पुराना केही मन्त्रीहरु परिवर्तन भएर नयाँ केही थपिन सक्ने जानकारी दिए ।
मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयन गराउन गण्डकी प्रदेश सरकार सफल भएको सँगै प्रदेश सरकारले गरिब परिवारका लागि आधार कार्ड वितरण गर्ने तयारी पनि भइरहेको बताए ।