सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा दायर भएको रिटमा बुधबार सुनुवाइका लागि पेशी तोकिएको छ।
गौतमको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा तोकिएको छ।अधिवक्ताहरु दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको रिटमा सुनुवाइ हुँदैछ।
२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा हारेको व्यक्तिलाई सरकारको सिफारिशमा उपल्लो सदनमा नियुक्ति गरिएपछि त्यसबिरुद्ध रिट दायर गरिएको हो।
गौतमलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा नेकपाभित्र छलफल चलिरहेका बेला उनलाई सांसद नै नबनाउन माग गरिएको हो। राष्ट्रिय सभामा सरकारले कस्ता व्यक्ति मनोनित गर्ने भन्ने विषयमा प्रष्ट मापदण्डसमेत जारी गर्न सो रिटमा माग गरिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई असोज १ गते राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।