संयुक्त राष्ट्रसंघको साधारण सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्याग्नुभएको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन् ।
संयुक्त राष्ट्रसंघको अर्को हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।
राष्ट्रपति कार्यालय ह्वाईट हाउसका मुख्य सचिव मेडोसले यस बारेमा पत्रकारहरुलाई जानकारी दिएका हुन् । उनले राष्ट्रसंघीय ७५औँ महासभामा राष्ट्रपति ट्रम्पले भिडियोमार्फत सम्वोधन गर्ने तयारी भएको पनि स्पष्ट पारे । संयुक्त राष्ट्रसंघको महासभा गत मंगलबारदेखि शुरु भएको र यही सेम्टेम्बर ३० सम्म चल्ने तय भएको छ । महासभामा अहिले उच्चस्तरीय विभिन्न अन्तरक्रिया तथा छलफलहरु भइरहेको अधिकारीहरुले जनाएका छन् । –एएनआई