• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्रीलाई गगन थापाको पत्र : देशलाई जानीजानी संकटतर्फ नधकेलौं


बुधबार, भाद्र २४ २०७७
805
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी नियन्त्रणमा सरकारले गरिरहेको प्रयासप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।  

सरकारको व्यवहारले नागरिकको धैर्यताको बाँध टुट्न लागेको भन्दै सांसदसमेत रहेका थापाले यस्तै चलिरहने हो भने देश ठूलाे संकटमा फस्ने चेतावनी दिएका छन् ।  

सामाजिक सञ्जाल (फेसबुक/ट्विटर) मा प्रधानमन्त्री ओलीलाई लामो पत्र लेख्दै नेता थापाले यस विषयमा बेलैमा ध्यान पुर्याउन आग्रह गरेका हुन्।

हेर्नुस उनले लेखेको पत्रको पूर्णपाठ :

काठमाडौं उपत्यकाका प्रजिअहरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्नेजस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडिओहरूले के को आधारमा यो धारणा दिँदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडिओरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफू नै हो भन्ने ठानेर धारणा राख्नुभएको होला । 

तर प्रजिअहरूले प्रस्तुत गर्नुभएको धारणा र सरकारले सबै जिम्मेवारी प्रजिअहरूलाई दिएको वर्तमान अवस्थामा, जिल्ला प्रशासनले जारी गर्दै गरेको अहिलेको निषेधाज्ञाका सन्दर्भमा भने अब गम्भिर भएर छलफल र प्रश्न उठाउन आवश्यक छ । जिल्ला प्रशासनको विज्ञता शान्ति सुरक्षा कायम गर्न जारी गर्ने निषेधाज्ञामा हो । अहिले जारी गरिएको निषेधाज्ञा शान्ति सुरक्षा कायम गर्नका लागि गरिएको होइन । अहिलेको अवस्था जनस्वास्थ्यसँग जोडिएको विषय हो । 

फेरि जिल्ला प्रशासन र प्र।जि।अ।हरूको विषयगत विशेषज्ञता जनस्वास्थ्यको विषयमा पक्कै होइन । जनस्वास्थ्यका दृष्टिले निषेधाज्ञा आवश्यक देखिए सोको कार्यान्वयनका लागि जिल्ला प्रशासन र प्र।जि।अ।लाई गुहार्नुपर्ने हो । तर जनस्वास्थ्यको विषयलाई नजरअन्दाज गरेर निषेधाज्ञा जस्तो संवेदनशील विषय कार्यान्वयन गर्ने निकायलाई नै सबै निर्णय गर्ने जिम्मेवारी पनि थोपरेर राजनीतिक नेतृत्व जसरी पन्छिन खोजेको छ यो दुर्भाग्यपूर्ण छ । यसले महामारीविरुद्धको यो लडाइँलाई झन् कमजोर बनाउँछ ।

आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति केवल दुई स्थानमा भेटिन्छ । पहिलो निषेधाज्ञा घोषणा गर्ने प्र।जि।अ।का रूपमा र दोस्रो साँझ ४ बजे कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रूपमा । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा छ । संसद बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन, आम नागरिक र जनप्रतिनिधिका कुरा सरकारसम्म पुर्यासउने सब माध्यम बन्द छन्, अनि प्रजिअको घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नुपर्ने ?

केहीअघि प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा गरेको ध्यानाकर्षणमा भनेको थियौं ‘काठमाडौं उपत्यकालगायत केही हटस्पटहरूमा २ हप्ता कडाई गरौं, तर यो अवधिमा जनतालाई घरमा राखेर सरकार नसुतोस् । सम्भाव्य जोखिम आकलन गरेर युद्धस्तरमा अस्पतालकेन्द्रित लगायत सम्पूर्ण तयारी यसै समयमा गरेर २ हप्तापछि जनजीवन सहज बनाउन सक्नेगरी गर्नुपर्ने काम यो अवधिमा गर्नुपर्छ । कठिन अवस्थाको सामना गर्न जनतालाई सहायता प्याकेजको व्यवस्था गरियोस् । यसो नगरेर एकोहोरो ‘घर वास, सुरक्षित वास’ भनेर मात्र हुँदैन।’ तर, अफसोच तीन हप्ता पुगिसक्यो त्यस्तो गर्नुभएन ।

अब त हुँदाहुँदा सरकारले रोग र भोकबाट आहत नागरिकलाई सिडिओ र प्रवक्ताका भरमा छाड्दिन थालेको छ, यो रोकियोस् । सिडिओ र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस् ।  

अनेकन समस्याका बाबजुद सिडिओको आदेश मानेर आम नागरिक घरभित्र बसिरहँदा, सरकार के गर्दै थियो, त्यो बताओस् । स्वास्थ्यको क्षेत्रमा के के तयारी भयो ? संक्रमितको संख्या थपिँदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिस्टमलाई कहाँ–कहाँ बदलियो ? के(के गर्दै जाने योजना छ ? लकडाउनरनिषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको ? वा लकडाउन गरिरहने सोच हो ?

सरकार, हामीलाई बताउ कि तिम्रो आदेश मानिरहँदा चुलो बन्द भएकाहरूको पेटको आगो निभाउन तिम्रा के(के योजना छन् ? बहाल तिर्न नसकेर बेघर भएकाहरूलाई छानो दिन तिमी के(के गर्दै छौ र कहिलेसम्म गर्दै छौ ? बाध्य भएर रोजगारीबाट बेदखल भएका बेरोजगारहरूलाई फेरि रोजगारीमा फर्काउन तिम्रा योजना के(के छन् ? अथाह परिश्रमबाट अलिअलि गरेर तङ्ग्रिएका स(साना व्यापार र व्यवसाय थला परेर जीवनभरिको पुँजी एक निमेषमा निमिट्यान्न भइरहँदा, त्यस्ता व्यापार र व्यवसायलाई आड र भरोसा दिने तिम्रा कार्यक्रम के(के हुन् ? रोगको भन्दा पनि भोकको पिरले मल खोज्न लामबद्ध हजारौं किसानका लागि ५ किलो मलको पनि समयमा जोहो गर्न नसकेको सरकारले ति किसानका लागि के के गर्योर, के गर्दैछ ?  

स्वदेशमै केही गर्न सकिन्छ कि भनेर हजारौं माइलको कष्टकर यात्रा गरेर आएर पनि फेरि कुनै उपाय नभएर फर्कंदै गरेका श्रमिक रोक्ने योजना के छन ? यातायात मजदुरदेखि दैनिक ज्यालादारीमा काम गर्नेसम्म, विभन्न पेसा/व्यवसायमा लागेर महामारीकै कारण चुलो निभेकाहरूका लागि सरकारले के सोचेको छ ?

दिनहुँ औषधि खाएर प्राण धान्नुपर्ने दीर्घरोगीदेखि नियमित स्वास्थ्य उपचार पाउन नसकेर मृत्युको मुखमा पुग्न बाध्य अनि गर्भवती महिला, बालबालिकाहरूका बारेमा के सोच छ ? जीवन जिउनका लागि अन्य कुनै उपाय नदेखेर आत्महत्या गर्न विवश हजारौं अनि नैराश्यता र उच्च मानसिक तनावमा बाँचिरहेका लाखौं नागरिकको अवस्था कसरी सम्बोधन गर्छौ ?

यो सबै विषयमा राजनीतिक नेतृत्व नबोल्ने नै हो, आफ्ना कर्मचारीको अनुहार देखाएर काम चल्छ भन्ने लागेको हो र सिडियोको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको ‍प्रवक्ताको मुखबाट कोरोना अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनै पनि बेला फुट्न सक्छ । कृपया, नागरिकको धैर्यताको जाँच नगर्नुहोस् । कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस् ।  

यस्तै चलिरहने हो भने नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन् । कोरोनाको अहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्नेछ । देशलाई जानीजानी त्यस्तो संकटतर्फ नधकेलौं । सरकारको अकर्मण्यता र गैरजिम्मेवारी प्रवृत्तिबाट कुनै संकट उत्पन्न नहोस् भन्ने चाहना सबैको हो । सरकार र राजनीतिक नेतृत्वमा जिम्मेवारी बोध र इमानदारिता हुने हो भने अझै बिग्रेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार