सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकका एजेन्डालाई लिएर पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया व्यक्त गरेका छन्।
देशका समस्यालाई छाडेर चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा लैजाने विषयमा बैठक केन्द्रित भएको भन्दै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत त्यसको आलोचना गरेका छन्।
कोरोनाको महामारी, बाढी–पहिरोबाट सयौँको मृत्यु, किसानलाई मलको समस्या, जनताको भोकमरीको समस्यालाई छाडेर चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा लैजाने विषयमा केन्द्रित भएको उनको आरोप छ। उनले जनताको समस्यालाई सम्बोधन गर्न नसक्ने पार्टीको नाम कम्युनिस्ट नहुने प्रतिक्रिया दिएका छन्।
‘प्रतिदिन हजारबढी कोरोना संक्रमित र दर्जनको मृत्यु, बागलुङ, कालीकोट, सिन्धुपाल्चोकलगायत जिल्लामा बाढी–पहिरोबाट सयौंको मृत्यु, मल नपाएर किसानको हाहाकार, श्रमिकहरू भोकभोकै सडकमा, सत्ताधारी पार्टीको एजेन्डा चुनाव हारेको कुनलाई राष्ट्रियसभामा लैजाने! तर, नाम कम्निस्ट रे! जुन गोरूको सिंग छैन उसको नाम तिखे?, बिहीबार अपरान्ह सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।