अर्थ विचार शिक्षा स्वास्थ्य

काेभिड १९ ले शिक्षा र अर्थतन्त्रमा पारेकाे प्रभाव

सैलेश श्रेष्ठ

पेनसिलभेनिया विश्वविद्यालयकी प्रोफेसर सुजैन फिजले भनेकी छिन्:-“सार्स र मर्सको अन्त्य लगत्तै यदि वैज्ञानिक वा सरकार वा औषधि कम्पनीहरुले यी भाइरसका सन्दर्भमा अध्ययन, अनुसन्धान र औषधि पत्ता लगाउने कामलाई ध्यान दिएका हुन्थे भने अहिले विश्वले औषधिको अनिश्चिततामा यति भयानक पीडाको सामाना गर्नुपर्ने दिन आउँदैन थियो। यति धेरै मानिसहरूले ज्यान गुमाउनु पर्ने र विश्व नै यसरी पूर्णतः सुनसान हुने अवस्था आउँदैन थियो।”

वास्तवमा यो सत्य हो। सन् २००२/०३ को महामारी सार्सले एशियाका २७ देशहरूलाई मात्रै प्रभावित पारेको थियो भने २०१२/१३ को अर्को महामारी मर्सले मध्यपूर्वका २६ देशहरूलाई असर गर्‍यो। सायद एशिया र मध्यपूर्वका देशहरूले मात्रै यो महामारीको पीडा व्यहोर्नु परेकोले होला, विश्वले भविष्यमा यसले पार्न सक्ने खतराप्रति कुनै अध्ययन, खोज र अनुसन्धानमा कुनै पहलकदामी चालेन या भनौं आवश्यक ध्यान दिन चाहेन। बरु विश्वका धेरै देशहरूको ध्यान आणविक, जैविक तथा रासायनिक हातहतियारहरुको निर्माणको होडबाजीमा बित्यो।

मानव विनाशको लागि कोसौँ टाढासम्म मार हान्न सक्ने क्षेप्यास्त्रहरु निर्माण गर्न शक्ति सम्पन्न भन्ने देशहरू बीच उछिनपाछिन नै चलिरह्यो। तर यस्तो विश्वव्यापी स्वास्थ्य संकट आइपर्दा चाहिने आधारभूत माक्स, भेन्टिलेटर र औषधि निर्माणमा विश्व बेखबर बन्यो।

यस सन्दर्भमा स्वास्थ्य क्षेत्रको विश्वव्यापी सर्वोच्च निकाय विश्व स्वास्थ्य संगठनले पनि योग्य र प्रगतिशील पहलकदमी लिन सकेन। जसका कारण पृथ्वीमा यस्तो कहालीलाग्दो सन्नाटा छायो। आज कोरोना भाइरस यस्तो खतरनाक चुनौतीको रूपमा प्रकट भएको छ कि यसले मानिसको स्वास्थ्य रक्षाको सवालमा आधुनिक चिकित्सा विज्ञानलाई समेत पूर्णतः चुनौती दिएको छ।

यतिबेला कोरोनाकै कहरले विश्वको शैक्षिक क्षेत्रले अत्यन्तै विकराल र भयावह  परिस्थितिको सामाना गर्नु परिरहेको छ। नेपाल पनि त्यसबाट अछुतो छैन। आज विश्वभरका कयौं  विद्यालय, कलेज तथा विश्वविद्यालयहरु बन्द रहेका छन्। यतिबेला विश्वभर करोडौं  विद्यार्थीहरुको दैनिक पठनपाठन र नियमित परीक्षाको तालिका अबरुद्ध भएको छ।

विद्यालय/कलेजहरु बन्द भएका कारण कतिपय देशहरूमा विद्यार्थीहरु विशेषगरी छात्राहरु घरेलु तथा अन्य हिंसाको शिकार हुनु परिरहेको तथ्य युनेस्कोले बताइरहेको छ। अझ यस प्रकारको हिंसा अल्पविकसित र अफ्रिकन मुलुकहरूमा बढी रहेको पाइएको छ।

विश्व प्रभावितको यो गणनाभित्र नेपाल पनि परेकै छ। अर्थात्, नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था महामारीकै चरणमा नभएता पनि संक्रमणको जोखिम बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै  सरकारले  सम्पूर्ण शैक्षिक सस्थाहरु चैत ११ गतेदेखि पूर्णरूपमा बन्द गरेको छ। बन्दको कारण लाखौं विद्यार्थीहरु आज घरमै छन्।

परीक्षाको स्थगन र अर्को तालिका प्रकाशित हुने अनिश्चितता कारण एसइईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थीहरु, अब के हुने हो भन्ने मनोवैज्ञानिक आतंकमा परेका छन्। तर सरकारले अहिले आन्तरिक मुल्यांकनको आधारमा एसइईका  विद्यार्थी उतिर्ण गराउने तयारी गरेको छ।

त्यसैगरी यहि वैशाख ८ र २१ गतेदेखि सुरु हुने कक्षा १२ र ११ को  परीक्षाको अन्तिम तयारीमा रहेका कुल ९ लाख ६२ हजार विद्यार्थीहरु समेत परीक्षा स्थगितको सूचना आएसँगै बेचैन भएका छन्। सबै विश्वविद्यालयहरुका नियमित वार्षिक परीक्षाहरु रोकिएका छन्। जसका कारण परीक्षा तयारीमा रहेका हजारौं विद्यार्थीहरु आफ्नो शैक्षिक भविषय के हुने हो भन्ने मनोवैज्ञानिक दोधारमा परेका छन्।

पछिल्लो वर्षहरुको तथ्यांकअनुसार विद्यार्थीहरुमा पढ्ने सँस्कृति हराउँदै गइरहेको, बीचमै पढाई छोड्ने क्रम बढिरहेको, शैक्षिक सुशासन कमजोर हुँदै गइरहेको अवस्थामा लामो समयसम्म विद्यार्थीहरुलाई नियमित शैक्षिक क्रियाकलापबाट टाढा राख्ने विषयले भविष्यमा डरलाग्दो असर पर्न सक्छ।

कोरोनाको कारणले शैक्षिक क्षेत्रजस्तै  अर्थतन्त्र अनुमाननै लगाउन नसक्ने गरी भयानक क्षतिको संघारमा पुगिसकेको छ। कोरोना भाइरसको संक्रमणका कारणले विश्व अर्थतन्त्र सन् २००९ पछिकै कम दरमा वृद्धि हुने ओईसीडीको प्रक्षेपण रहेको छ । आईएमएफका अनुसार कोरोना भाइरस (कोभिड– १९) का कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशत बिन्दुले खुम्चिने छ । 

कोरोना भाइरस संक्रमणको सन्त्रासले सन् २०२० मा विश्वको तेस्रो ठूलो उत्पादक राष्ट्र चीनको आर्थिक वृद्धि अहिलेसम्मकै सबैभन्दा न्यून हुने अनुमान छ । संयुक्त राज्य अमेरिका, युरो जोन, जापान लगायतका राष्ट्रहरूमा उत्पन्न हुने सुस्तीले विश्व अर्थतन्त्रमा नै आर्थिक मन्दी उत्पन्न हुन सक्ने खतरा देखिएको छ ।

विश्वका ठूला अर्थतन्त्र भएका राष्ट्रहरूका आर्थिक गतिविधिहरूमा धेरै नै कमी आएको छ । रेस्टुरेन्ट, अटो डिलर्स, पर्यटनलगायत अन्य वस्तुहरूको बजारमा उच्च गतिमा माग घटिरहेको छ । सन् २००८ को वित्तीय संकटपछि विश्वका प्रमुख स्टक मार्केटहरूमा खराब अवस्था सिर्जना हुन सक्नेछ । धेरै राष्ट्रमा यात्रामा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानमा ठुलो मात्राले कमी आएको छ । विश्वमा आपूर्ति झड्का उत्पन्न हुने खतरा बढेको छ ।

उपभोक्ता, उत्पादक, लगानीकर्ताको मनोबल खस्किएको अवस्था आएको छ । प्रविधि, अटोमोबाइल, उपभोग्य वस्तु, औषधी, स्मार्टफोनलगायतको उत्पादनमा कमी भएको छ । चिनियाँ हवाई उडान, उपभोग उच्च शिक्षा, पूर्वाधार, पर्यटन, मनोरञ्जन, हस्पिटालिटी, विद्युतीय सामग्री, उपभोग्य तथा विलासी वस्तुहरूमा बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन घटाइरहेका छन । चाइना, अमेरिकालगायतका देशहरूको पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित भइरहेको छ । वैदेशिक रोजगारी एंव रेमिटान्स आप्रवाहमा ठूलो असर पुग्ने सम्भावना छ ।

चीनमा कतिपय उद्योग बन्द भइसकेका छन् । धेरै परिपक्व भएका मुलुकहरूमा यो रोगले ठूलो झड्का पुर्‍याउने  आकलन छ । यसले विश्वका धेरै देशलाई सुस्तीमा धकेल्नेछ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आर्थिक मन्दी भएमा यसको असर विश्वका सबै देशमा पर्नेछ र यो असर क्षणिक मात्र नभई दूरगामी प्रकृतिको हुनेछ ।

 विश्व अर्थतन्त्र प्रभावित भएसँगै यसबाट नेपालको अर्थतन्त्र पनि प्रभावित हुने निश्चित छ । नेपाल सरकारले कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको अध्ययन सुरु गरिसकेको छ ।  यो रोगको सन्त्राससँगै बजारमा खाद्यान्न, ग्यास, औषधीलगायत वस्तुहरूमा कृत्रिम अभाव र कालोबजारी देखिन सुरु भएको छ । अर्थतन्त्रका पर्यटन, व्यापार, लगानी, निर्माण क्षेत्र, वैदेशिक रोजगारी, विप्रेषण, होटल व्यवसाय, आपूर्तिलगायतका क्षेत्रमा नकरात्मक प्रभावको लक्षणहरू देखापर्न सुरु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० स्थगित हुन पुगेको छ । नेपालको पर्यटन क्षेत्रले अभुतपुर्ण धक्का ब्यहोर्नु परेको छ। व्यापारिक गतिविधीहरू कमजोर हँुदै छन् भने यसबाट आर्थिक वृद्धि नै प्रभावित हुने देखिएको छ । वार्षिक वजेट २०७६÷७७ ले तय गरेको ८.५ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्न असम्भव  देखिएको छ । विश्वमा कच्चा पदार्थहरूको उत्पादनमा कमी आएसँगै नेपालको अर्थतन्त्रमा पनि ठूलो चुनौती उत्पन्न हुने देखिएको छ ।

नेपालमा चीनका कामदारहरू, इन्जिनियरहरू, निर्माण कम्पनीहरू एवं चीनको लगानी रहेका परियोजनाहरू प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । वैदेशिक रोजगारीमा कमी एवं विदेशमा रहेका नेपाली श्रमिकहरू स्वदेश फर्कने क्रम बढेसँगै विप्रेषण आप्रवाहमा कमी आई विदेशी विनिमय सञ्चितिमा कमी आउने सम्भावना छ। यसै कारण नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत प्रभावित हुनसक्ने उद्योगका लागि राहत प्याकेज ल्याउने घोषणा गरेको छ । निजी क्षेत्रमा त्रास बढेको छ ।

भारतले नेपालमा केही औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिवन्ध लगाएको छ । पर्यटक आवागमनमा कमीले एयरलाइन्स कम्पनीहरू संकटमा पर्ने देखिएको छ । खेलकुद कार्यक्रमहरू, राजनीतिक दलका कार्यक्रमहरू, समारोहहरू, सम्मेलनहरू रद्द गरिएका छन जसले अर्थतन्त्रको स्वचालित गतिलाई कम गराएको छ ।

नेपालको सरकारी र निजी लगानीका विकास निर्माणका आयोजनाको काममा कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ भने अप्रत्यक्ष प्रभावको कुनै लेखा जोखा नै छैन । चीनबाट आयात हुने उपकरणहरू, चिनियाँ ठेकेदारहरू, इन्जिनियरहरू र कामदारहरू उतै अड्किएका छन । यसबाट आयोजनाको अवधि लम्बिने, लागत मात्र बढ्ने होइन सरकारको पुँजीगत खर्च पनि झन् कम हुने सम्भावना छ ।

सबैभन्दा ठूलो समस्या जलविद्युत् आयोजनमा छ, किनभने नेपालका धेरैजसो जलविद्युत् आयोजनामा चिनियाँ लगानी छ । त्यसैगरी ट्रान्समिसन प्रोजेक्ट, चक्रपथ विस्तार (दोस्रो चरण) केरुङ–काठमाडौँ रेलमार्ग संभाव्यता अध्ययन प्रकृया, काठमाडौँ टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माण प्रक्रिया, काठमाडौँ मेट्रो रेल आयोजनाको अध्धयन, पोखरा अन्तराष्ट्रिय विमान स्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल निर्माणमा लगायतका १ दर्जनभन्दा बढी आयोजनाहरूमा अन्यौलता उत्पन्न हुने देखिएको छ ।

नेपालसँगका चिनियाँ नाकाहरू बन्द छन् भने आयात ठप्प प्रायः छ । नेपालको भन्सार राजस्वसमेत प्रभावित भएको छ । चिनियाँ सामग्रीको आयात उच्च घटेको छ । खाद्यान्नलगायतका उपभोग्य वस्तुहरू व्यक्तिहरूले आफूलाई चाहिनेभन्दा बढी सञ्चय गर्न थालेका छन् । व्यापारीहरूले अत्यावश्यक मेडिकल सामग्रीहरूको कृत्रिम अभाव सिर्जना गरेका छन् । होटेल, रेस्टुरेन्टहरू ग्राहकको अभावका कारण खाली हुँदै गएका छन् ।

कर्मचारीहरूलाई तलब–भत्ता दिन सक्ने अवस्था छैन भने कतिपय बन्द हुने अवस्थामा पुगेका छन् । बैंकबाट लिएको ऋणको किस्ता एवं ब्याजसमेत भुक्तान गर्न नसक्दा बैंकहरूको कर्जा असुलीलगायत नाफामा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । नेपालका लागि चीन ठूलो व्यापारिक साझेदार हो । अन्तराष्ट्रिय व्यापारमा करिब २० प्रतिशत हिस्सा चीनसँग रहेको छ, चीनसँगको आयात निर्माण ठप्प हुँदा फलफूल, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, औद्योगिक कच्चा पदार्थ लगायत चीनबाट आयात हुने ठूलो हिस्सा बन्द भएको छ ।

चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतितपत्र (एलसी) खोल्नेको सङ्ख्या र कारोबारमा कमी आएको छ । यसबाट एकातर्फ बैंकहरूको कमिसन आम्दानी कम हुन्छ भने अर्कातर्फ एलसीको भुक्तानीमा प्रदान गरिने ट्रस्ट रिसिप्टलगायत अन्य कर्जा प्रवाह पनि कम हुने देखिन्छ । एलसी कारोबारमा कमी आएपछि भन्सार राजस्व घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

लकडाउनको यो फुर्सदको समयमा विद्यार्थीलाई शैक्षिक मनस्थितिमा कसरी उठाउन सकिन्छ भन्ने बिषयमा शिक्षा मन्त्रालयले ध्यान दिनु जरुरी छ।हुन त यो समय अत्यन्तै असामान्य र विश्वव्यापी महामारीको अवस्था भएतापनि मुलुकको सुखद भविष्यको जगको रूपमा रहेको शिक्षा प्रणालीलाई यस्तो संकटपूर्ण अवस्थामा समेत कसरी अद्यावधिक र नियमित गर्न सकिन्छ भन्ने सन्दर्भमा विद्यार्थी आन्दोलनबाट स्थापित अनुभवी र योग्य नेतृत्व रहेको शिक्षा मन्त्रालयले समयमै विशेष अग्रसरता देखाउनै पर्दछ।

लकडाउन अझै बढ्ने सम्भावना रहेको र यदि लकडाउन खुल्ला भइहाल्यो भने पनि एकातर्फ स्कुल कलेज संचालन गर्न सकिहाल्ने त्रासमुक्त वातावरण निर्माण हुँदैन भने अर्कोतर्फ परीक्षाको तयारीमा रहेको यति ठूलो संख्याका विद्यार्थीहरुलाइ तोकिएको निश्चित परीक्षा केन्द्रहरुमा उपस्थित गराई परीक्षा संचालन गर्नु अत्यन्तै जोखिमपूर्ण नै हुने देखिन्छ। किनभने संक्रमित मानिस उपचारपश्चात् सन्चो भई घर फर्किसकेका अवस्थामा समेत चीन अमेरिका, फ्रान्स लगायत देशहरुमा पुनः संक्रमण देखिनुले यो कोरोना भाइरस संक्रमण रोकिने अन्तिम डेडलाइन कहिलेसम्म हो भन्ने नै निश्चित छैन।

आजसम्म भाइरस उत्पत्तिको कारण, यसको निर्मूलिकरणका लागि चाहिने औषधि निर्माण गर्नै सकेको छैन। विभिन्न वैज्ञानिकहरु यस विषयमा खोज, अध्ययन, अनुसन्धानमै लागिपरिरहेका छन्।

मानव समुदायले अझै लामै समय यो असहज परिस्थितिको गुलाम भएर रहनुपर्ने बाध्यता देखिएको छ। यो परिस्थिति बाढी पहिरो, आगलागी, आँधी हुरी, भूकम्प आदि प्राकृतिक प्रकोपको जस्तो पनि होइन या कुनै आन्दोलन वा क्रान्तिको समय जस्तो पनि होइन।

कोरोना भाइरसले अझैँ कति क्षति पुर्याउछ भन्ने कुराको अनुमान गर्न सकिने अवस्था छैन। त्यसैले यो असहज र कठिन अवस्था अझैँ लामो समयसम्म रहिरहने खतरा रह्यो भने एसइई, कक्षा ११ र १२ तथा केही विश्वविद्यालयहरुको परीक्षाको अन्तिम तयारीमा रहेका करिब १५ लाख विद्यार्थीहरुको परीक्षाको सम्बन्धमा यो असामान्य घडीमा वैकल्पिक विधिहरुको बारेमा पनि सोच्नुपर्ने हुनसक्छ।

विशेषगरी उमेर समूहको हिसाबले साना बालबालिका सहभागी हुने एसइई  परीक्षाको लागि यो असामान्य परिस्थितिमा  हिजोको सामान्य समयको मोडेलभन्दा वैकल्पिक मोडेलहरुको खोजी पनि गर्नुपर्ने हुनसक्छ। किनभने हामीले शैक्षिक क्यालेन्डरलाई अबरुद्ध पनि गर्नु हुँदैन। त्यसैगरी घरमै बसिरहेका नेपालका करिब ८० लाखभन्दा बढी विद्यार्थीहरुको शैक्षिक भविष्य कसरी नियमित गर्ने र बिग्रन नदिने भन्ने सन्दर्भमा उपयुक्त निर्णय लिन अबेर गर्नु हुँदैन।

नेपालको शिक्षा क्षेत्र भित्रको अहिलेको डरलाग्दो तस्बिर संकटको यस घडीमा  शिक्षालय पुग्न जटिल रहेको अवस्थामा विद्यार्थीहरुलाई नियमित शैक्षिक गतिविधिहरुबाट टाढा हुन नदिन तत्काल उनीहरुसँग शैक्षिक सम्पर्क मजबुत गर्न ब्यबस्थित ढंगले श्रब्य/दृष्य ई सिकाई, डिस्टान्स लर्निङ र भर्चुअल क्लासरुम संचालन गर्नुपर्छ।

यो चुनौतीले हाम्रो लागि सिर्जना गरेको उपयुक्त अवसरको समय पनि  हो। स्कुल/कलेज खोल्न हतारो नगरी अनलाइन सिकाईतर्फ ध्यान दिनुपर्छ। तत्काललाई यो अप्ठ्यारो समयमा नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग समन्वय गरी विद्यार्थीहरुको लागि विशेष सेवा उपलब्ध गराउन सकिन्छ। इन्टरनेटको सहज पहुँच नपुग्ने स्थानहरुमा यो असहज समयमा रेडियो, एफएम, राष्ट्रिय तथा स्थानीय मिडियाहरु मार्फत शिक्षा विशेष कार्यक्रम संचालन गरी विषय विज्ञहरुसँग विद्यार्थीहरुको नियमित अन्तरक्रिया गराई उनीहरु सँग शैक्षिक दूरी कम गर्ने प्रयत्न गर्नुपर्छ। प्राबिधिक बिश्वबिद्धालय तहका हकमा भने आवश्यक सामाग्री विद्यार्थीलाई उपलब्ध गराई  सैद्धान्तिक कक्षा संचालन गर्ने र पछि सामान्य अवस्थामा प्राक्टिकल गराउन सकिन्छ।

त्यसैगरी आर्थिक क्षेत्रलाई माथि उठाउन सरकारले राहतका आर्थिक प्याकेज घोषणा गर्नेदेखि लिएर दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्छ।रोजगारी घुमेकाहरुलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न कार्यक्रमहरु तर्जुमा गर्नुपर्छ।

अन्त्यमा, अर्थतन्त्रका क्षेत्रहरूको ग्याप वा असरहरु त २/४ वर्षको मिहिनेतबाट रिकभर गर्न सकिएला। तर शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असर वा प्रभावले विद्यार्थीहरुको मात्रै भविष्य बिग्रदैन, यसले सिंगो समाज र राष्ट्रको समग्र संरचनालाई नै दीर्घकालसम्म चिमोटिरहेको हुन्छ। त्यसैले महामारीको प्रकोपलाई देखाएर शिक्षा क्षेत्रलाई पाखा लगाउने नालायकी छुट अब कसैलाई पनि हुनु हुँदैन।

स्वास्थ्य प्रति उच्च साबधानी अपनाउँदै शिक्षा प्रतिको आधारभूत दायित्व पूरा गर्न सरकारका तीन वटै तह, शिक्षा मन्त्रालय र यससँग सम्बद्ध देशै भरका निकाय र अन्य सरोकारवाला पक्षहरु कदापि चुक्नु हुँदैन।त्यसैगरी आर्थिक क्षेत्रमा पर्ने असरलाई मेटाउन बिज्ञका सुझावलाई आत्मसात् गरि अघि बढ्नु पर्छ।

लेखक श्रेष्ठ कृषि तथा वनबिज्ञान बिश्वबिद्यालय, रामपुर चितवनमा कृषि स्नातक तहमा अध्ययनरत बिधार्थी हुन् ।

Related posts

नेपालमा फेरि थपिए ९ कोरोना संक्रमित, संख्या २५८ पुग्याे

civilkhabar

कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो

civilkhabar

विद्यार्थीलाई प्राथमिक उपचार बिधी सिकाउदै पालुङटार नगरपालिका

civilkhabar

Leave a Comment