विचार हाइलाइट-समाचार

वातावरण दिवसः भावी पुस्तालाई कस्तो वातावरण हस्तान्तरण गर्ने ?

केशव कुमार दाहाल

परिवेश :
आजको दिन ९जुन ५० वातावरण दिवस हो । यसपालिको वातावरण दिवस “ सुरक्षित जीवनका लागि जैविक विविधतां” भन्ने नाराका साथ संसारभरि मनाईदैछ । सरकार, निजी क्षेत्र, सामाजिक संस्थाहरु सबैले आज फेरि एकपटक वातावरणलाई सम्झिंदैछन् । विभिन्न क्षेत्रबाट अझ विशेष गरी सरकारहरुबाट आज निकै भावुक र वातावरण सम्बन्धि सूचनामुलक सन्देशहरु आउने क्रम जारी छ ।

यसपालीको विश्व वातावरण दिवस कोरोना कहरकै बिचमा आएको छ । संसारभरिबाट कोरोना कालमा वातावरणमा सुधार आयो भनेर विभिन्न तथ्य तथा फोटोहरु सार्वजनिक भईरहेका छन् । नेपालका छापाहरुमा पनि काठमाण्डौमा सुन्दरता थपिएका, काठमाण्डौबाटै सगरमाथा देखिने, वरिपरिका सबै हिमाल देखिने विभिन्न दाबी, अड्कल तथा अनुभवहरु साटासाट हुन थालेका छन् । कोरोनाकालले ल्याएको वातावरण स्वच्छताले मानिसलाई वातावरण हाम्रै कारणले बिग्रिएको रहेछ भनेर बुझ्न र बुझाउन सहज भएको छ ।

स्वच्छ र सफा वातावरणमा बाँच्न पाउनु हरेक नेपाली नागरिकको संवैधानिक अधिकार हो । संविधानको धारा ३० ले उक्त कुरालाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । यसैलाई कार्यान्वयन गर्नको लागि राष्ट्रिय वातावरण नीति २०७६ तर्जुमा गरिएको छ । यो नीतिको उद्धेश्य प्रदुषण नियन्त्रण, फोहोर मैला ब्यवस्थापन र हरियाली प्रवर्धन गरी नागरिकले स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्ने हो । त्यसै गरी जलवायु परिवर्तनका जोखिमहरु न्युनिकरण गर्दै उत्थानशील समाज निर्माण गर्ने उद्धेश्यले नेपाल सरकारले राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ पनि  लागु गरेको छ ।

तर, आजको दिनमा मानिसको ब्यवहार र विकासका नाममा गरिने वातावरण दोहनको क्रमलाई हेर्ने हो भने वातावरण दिवस पनि अन्य दिवस जस्तै नामका लागि मात्र मनाईन्छ र विभिन्न नीति र नियमहरु पनि कागजमा मात्र सिमित छन् भन्ने भान हुन्छ ।  

विडम्बना, जलवायु परिवर्तनको वैज्ञानिक आधारमाथि नै प्रश्न गर्ने शासकहरु सत्तामा आउने क्रम बढेको छ । वायु प्रदुषणले नागरिकहरुले श्वास फेर्न नसकेको गुनासो गर्दा, सधैं आरामदायी कारमा यात्रा गर्ने शासकहरु आफुलाई जिस्क्याएको ठान्छन् ।

यि परिवेशले वातावरण संरक्षणको लागि अझै धेरै काम गर्न जरुरी रहेको कुरालाई पुष्टी गर्छ । आजको यस महत्वपुर्ण दिनमा हामी कसरी वातावरण विनास तर्फ उन्मुख छौं र तपाई हामी मिलेर के गर्न सक्छौं भनेर केहि विश्लेषण गर्न र त्यसको लागि केहि प्रयत्न गर्ने वाचा गर्न जरुरी छ ।

वातावरण विनासको असर र मारमा गरीबहरु

हामीले प्रकृतिबाट पाएका अनुपम उपहारहरुलाई दिन प्रतिदिन दुषित पारिरहेका छौं । हावा, माटो, पानी सबैमा प्रदुषण अत्यन्त बढेको छ ।  यस्तो लाग्छ कि हामीले अब कहिले पनि स्वच्छ हावा तथा पानी देख्न र उपभोग गर्न पाउँदैनौं ।

बढदो पेट्रोलियम पदार्थको प्रयोग तथा कलकारखानाका कारणले हावा अत्यन्त दुषित छ । एल युनिभर्सिटी तथा कोलम्बिया युनिभर्सिटीले २०१८ मा १८० देशमा गरेको  एक अध्ययन अनुसार काठमाण्डौको हावाको गुणस्तर सबैभन्दा कमजोर देखाएको थियो । हाम्रो देशमा बढी वातावरणलाई क्षति गर्ने उद्योगहरु बन्ने क्रम बढेको छ । बढ्दो सिमेण्ट उद्योगको कारणले वरिपरीका बस्तीहरुमा बालीनाली सखाप भएका छन् । मानिसहरुलाई श्वास फेर्न गाह्रो भएको छ । कलकारखानाका  तथा शहरका फोहोरमैला र बढ्दो प्लाष्टिक प्रयोगको कारणले नदीहरु अत्यन्त दुषित छन् । नदी दुषित भएपछि नदी तथा पानीको जैविक विविधता घटेको छ । त्यसकाराण वर्षेनी लाखौंका दरले जीवहरु लोप भएर जाँदैछन् । जैविक विविधतामा सकंटमा पर्नु भनेको मानव जीवनको अस्तित्व नै सकंटमा पर्ने संकेत हो ।

विकासको नाममा वन फँडानी गर्ने, नदीजन्य पदार्थको जथाभावी दोहन गर्ने क्रम बढेको छ । नदी वरवरका वस्तीहरु ठुलो जोखिममा छन् । चुरे क्षेत्रको अस्तित्व नै सकंटमा परिरहेको छ । चुरे क्षेत्रका वनहरुका कारणले जमिनमा पानी संरक्षण हुने र तराई तथा मधेश क्षेत्रहरुका नदि नालाहरुमा खाने तथा सिंचाइका लागि पानीको उपलब्धता हुने पर्यावरणीय सन्तुलन नै जोखिममा पर्न थालिसकेको छ ।

हाम्रो खेती प्रणालीले वातावरण विनास तथा मानव स्वास्थ्यमाम ठुलो सकंट थपिरहेको छ । जथाभावी रासायनिक मलको प्रयोग, प्रागांरिक पदार्थमा कमि, विषादीको बढ्दो प्रयोगले माटोको अवस्था दिनानुदिन बिग्रिरहेको छ । मानिसहरुमा क्यान्सर, मृगौला, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको प्रकोप बढेको छ । यसको प्रभावले ब्यक्तिहरुको स्वास्थ्यमा हुने खर्चहरु आकाशिएर धानिनसक्नु भएको छ ।

वातावरण बिनास र जलवायु परिवर्तनले गरीब समुदाय तथा महिलाहरुमा जोखिम अझै बढाउँछ । र,  तिनीहरुको जीविकोपार्जनलाई थप जोखिममा पारिदिन्छ जसले गर्दा गरीबीको मात्रा अझ बढ्छ । पानीका श्रोतहरु सुक्दैछन् । घाँस दाउरा सकंलन गर्ने काममा बढी समय लाग्ने र कृषि कर्महरु अझ कठिन भएका छन् ।  

वातवरण दिनदिनै क्षयीकरण हुनु र जोखिममा परेका समुदायहरुको जोखिमता अझ थपिंदै जानुमा तपाई हामी सबै जीम्मेवार छौं । तपाई हाम्रा बानी ब्यहोरा, प्राकृतिक श्रोत र सम्पदाको निजीकरण र निर्मम दोहन, र प्राकृतिक सम्पदा दोहन गर्न प्रेरित गर्न सहयोग पुर्याउने खालका कानुन बनाएर लागु गर्ने हाम्रा सरकारहरु, यो सबै देखेर पनि आँखा चिम्लिने नागरिक समाज, र सत्तामा बस्ने गैर जीम्मेवार ब्यक्तिहरु यो सबै बिनासका भागीदार हुन् ।  

के गर्न सकिन्छ ?

वातावरण सुधार गर्न ब्यक्ति, समुदाय, तथा सरकारले आफ्नो आफ्नो कर्तब्य पालना गरी यसमा सकारात्मक सहयोग पुर्याउन जरुरी छ ।

हाम्रो आनीबानी परिवर्तन गरी हरित बानीब्यहोरा विकास गर्न आवश्यक छ । सबैले आफ्ना घरबाट निस्किने फोहोरबाट मल बनाउने, नसड्ने बस्तुको उचित ब्यवस्थापन गर्ने, प्लाष्टिकको कम प्रयोग गर्ने, समुदायमा रहेको सार्वजनिक ठाउँहरु, नदि, पोखरीहरु सफा गर्न अग्रसरता लिनु पर्छ । क्षणिक ब्यक्तिगत फाईदाको लागि बन र नदीजन्य पदार्थ दोहन गर्नु हुँदैन ।

सरकारले भएका कानुनहरु पालना गरी वातावरण बिनास गर्ने दोषीहरुलाई हदैसम्मको कारबाही गर्न, वातावरण प्रवर्धनमा सहयोग पुर्याउन, तथा पिडितहरुलाई क्षतिपुर्ति दिन तथा दिलाउन जीम्मेवारीपुर्वक काम गर्नुपर्छ ।

नीतिगत रुपमा जलवायु परिवर्तनका असरहरु घटाउन प्रत्येक पालिकाहरुमा योजनाहरु बनाएर कार्यान्वयन गर्ने ब्यवस्था छ । योजनाहरु बनाईए पनि कागजमै सिमित हुने तर लागु नहुने जस्ता संरचनागत समस्याबाट यो क्षेत्र पनि अछुतो छैन । सबै सरोकारवालाहरुको सहभागितामा स्थानीय स्तरमा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गर्न ब्यवहारिक योजनाहरु बनाउने, आवश्यक श्रोतहरुको पनि ब्यवस्था गरेर यि योजनाहरुलाई कार्यान्वयन गर्न जरुरी छ ।

वातावरण मैत्री यातायात विस्तार गर्न जरुरी छ । विद्युतीय यातायातको बिस्तार गर्नुपर्छ ।  काठमाण्डौ, भक्तपुर, ललितपुरमा साइकलको लेन हुने हो भने आधा प्रदुषण घट्छ भनेर दाबी गरिन्छ । यसले वातावरण स्वस्थ्य हुने, मानिसको स्वस्थ्यमा सुधार आउने, र ब्यक्तिहरुको उपचारको खर्च घट्ने कारणले मानिसको कार्यक्षमता बढ्छ । साईकल जस्ता वातावरण मैत्री यातायात पुर्वाधार प्रवर्धनले पेट्रोलियममा हाम्रो परनिर्भरता घट्छ ।  

हरियाली बढाउने कुरालाई प्राथमिकतामा राख्नु पर्छ । शहरमा हरियाली बढाउन अझ बढी आवश्यक छ । शहरीकरण गर्दा खुला ठाउँहरु राख्न, घर बनाउने नियमहरु परिवर्तन गरी हरियाली बढाउन, बाटोहरुका दायाँवायाँ रुखहरु रोप्न र ठाउँठाउँमा बगैंचाहरुको ब्यवस्था गर्न आवश्यक छ ।

कृषिमा प्रांगारिक खेती प्रवर्धन गर्न आवश्यक छ ।  स्थानीय बालीहरु प्रवर्धन गर्न तथा स्थानीय बाली उत्पादन गर्ने कृषकहरुलाई थप सुबिधा प्रदान गर्न आवश्यक छ । भारत तथा अन्य देशबाट भित्रिने बिषादी प्रयोग भएका कृषि उपज रोक्न कडा नियम बनाएर कार्यान्वयन गर्न आवश्यक छ । कृषि पर्यावरणीय हिसाबले उच्च पहाड, पहाड, तराई, उपत्यकाका लागि उपयुक्त दिगो कृषि प्रणालीहरु विकास गरी तिनीहरुको सबंर्धन तथा प्रवर्धन गर्न जरुरी छ ।  यसले कृषि पर्यटनमा पनि टेवा पुग्छ ।  

फोहोर मैला ब्यवस्थापनमा उचित कदम चाल्नुपर्छ । नदी तथा वातावरण लाई जानाजान फोहार गर्ने सँस्कृति घटाउन वातावरण दुषित गर्ने कार्यलाई हदै सम्मको दण्ड जरीवानाको ब्यवस्था गर्न जरुरी छ । परम्परागत शीप जस्तै बाँसबाट, अन्य बोटविरुवाबाट तथा माटोबाट बनाईने घरायसी प्रयोजनका हस्तकला युक्त सामानहरुको प्रवर्धनलाई जोड दिएमा उद्यमशीलता बढ्ने, रोजगारी बढ्ने तथा देश आत्म निर्भर हुने दिशामा अगाडि बढ्छ । यसको लागि प्लाष्टिकबाट बनेका सामानहरुको उत्पादन, आयात तथा प्रयोग घटाउनु पर्छ ।

वातावरण र जलवायु परिवर्तन सम्बन्धि ब्यवाहारिक ज्ञान आधारभुत शिक्षा देखि नै प्रवर्धन गर्न सके वातावरणमा सकारात्मक सोच राख्ने भावी पुस्ता विकास हुन्छ । उनीहरुले बनाउने नीति नियम र ब्यवहारहरु वातावराण मैत्री हुनेछन् ।
वातावरण संरक्षण गर्न नागरिक समाजले जनतालाई सुसुचित गर्न तथा सरकारलाई निरन्तर खबरदारी गर्न आवश्यक छ । नागरिक समाजले सरकाले विकासका लागि गरेका जुनसुकै काममा ब्यवधान गर्ने मात्र होईन विकल्प पनि पेश गरेर सरकारलाई सधैं सहयोग तथा खबरदारी गरिरहनु पर्छ ।  

निचोडः

वातावरण विनास र जलवायु परिवर्तनको प्रभाव वैश्विक हुने भएपनि यसको न्युनिकरणको लागि स्थानीय समुदाय सचेत हुन, र स्थानीय स्तरमा ठोस कदम चाल्न अनिवार्य छ ।

यसपालीको वातावरण दिवस फगत कर्मकाण्डी सन्देशहरुमा मात्र सिमित नहुन् । आजैका दिनमा प्रण गरौं “ हामीले निशुल्क पाएको यो सुन्दर उपहारलाई अझ राम्रो बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न योगदान गर्न सकौं ।

प्रतिकृयाका लागि इमेल: [email protected]

Related posts

गण्डकी प्रदेशमा फेरी देखियाे १ जनालाई कोरोना, संक्रमितको संख्या २४६ पुग्यो

civilkhabar

‘आन्दोलन गोरखाबाटै सुरू गरौं’

civilkhabar

‘सदका ए फित्र’को बारे संक्षिप्त जानकारी

civilkhabar

Leave a Comment