धर्म/संस्कृति विचार समाज

को हुन् तब्लिगी जमात ?

अब्दुल्लाह मियाँ
सुरु गरौं पाकिस्तानी शायर सैयद सल्मान गिलानीको एक चर्चित कथनबाट ।

पाकिस्तानमा एउटा तब्लिगी जमाती चिल्ला (यात्रा) पुरा गरेर घर फर्केपछि पत्नीलाई पिट्दै गरेको अर्को एक व्यक्तिले देखेछ र भनेछ, मुर्ख, भर्खर धार्मिक यात्रा गरेर आएका छौ, श्रीमतीलाई पिट्दैछौ यही सिक्यौ जमातमा ?

झन् चिढिदै उसले भनेछ, यसले दाह्री राख्दैन । अवाक भएर त्यो व्यक्तिले भनेछ, बेकुफ आइमाइको दाह्री कहां हुन्छ ? श्रीमानले भनेछ, हो त्यो त थाहा छ महिलाको दाह्री हुंदैन । तर इरादा त गरोस्, इरादा गर्न के ले छेकेको छ र ?

यसबाट के थाहा हुन्छ भने तब्लिगी जमातमा हिंड्नेहरु इरादामा बढी विश्वास गर्छन् अर्थात् उनीहरुको सोंच हुन्छ, जो कोहीले जुनसुकै उद्देश्यका लागि इरादा गरोस् ।

मुलतः इरादाले उपलव्धी हात लाग्छ भन्ने शतप्रतिशत विश्वास हुन्छ जमातीमा । त्यसैले नयां व्यक्ति भेट्न बित्तिकै उनीहरुको प्रस्ताव हुन्छ, अल्लाहका लागि यात्राको इरादा गर ।

तब्लिगी जमातको इतिहासः
तब्लिगी जमातको स्थापना सन् १९२६ मा भएको हो । सामान्यतया तब्लिकको अर्थ धर्मको प्रचार हो भने जमातको अर्थ समुह । यसको स्थापना भारतको हालको दिल्ली नजिकै भएको मानिन्छ । तब्लिगी जमातका संस्थापक हुन् मौलाना मोहम्मद इलियास ।

उनी भारतीय नागरिक नै हुन् । तब्लिगी जमातको पहिलो सम्मेलन सन् १९४१ मा भारतमै भएको थियो । उक्त सम्मेलनमा २५ हजार मुसलमान सहभागी थिए । सन् १९४० को दशकसम्म तब्लिगी जमातको समुह भारतमा मात्र सीमित थियो ।

पहिलो सम्मेलनपछि यसको विस्तार सुरु भएको देखिन्छ । भारतबाट पाकिस्तान, बंगलादेश, अफगानिस्तानलगायतका दक्षिण एसियाली मुलुक हुंदै यो समुह एसिया, युरोप, अमेरिका र अफ्रिकी मुलुकहरुमा पुगेको हो ।

अहिले विश्वका करिब १५० देशमा यो समुह छ । तब्लिगी जमात विश्वमै ठूलो संस्था (समुह) का रुपमा परिचित छ । नेपालमा पनि यो समुह करिब ६० को दशकदेखि सक्रिय छ । यो विशुद्ध आस्थावानहरुको समुह हो । इस्लाम भित्रकै एउटा समुह हो जो इस्लामका तौर तरिकालाई स्थापित गर्न र समाजलाई गलत बाटोमा जान नदिन तल्लिन छ ।

तब्लिगी जमातले हरेक वर्ष ठूला सम्मेलन आयोजना गर्छन्, जसलाई भनिन्छ इज्तिमा । दक्षिण एसियाली मुलुकसहित विश्वका विभिन्न विकसित र विकासोन्मुख देशहरुमा पनि यस्तो सम्मेलन वर्षमा धेरै पटक आयोजना हुन्छन् ।

यो पटक नेपालको सप्तरी, बोदेबर्साइन गरपालिकाकाको जांजरमा पनि यस्तो सम्मेलन भएको थियो फागुन पहिलो साता । उक्त सम्मेलनमा पाकिस्तान, मलेशिया, इण्डोनेशिया, सिंगापुर, थाइल्याण्ड, भारतलगायतका मुलुकबाट तब्लिगी जमात सहभागी थिए । नेपालबाट पनि धेरै जिल्लाका मुसलमान सहभागी थिए । यस्तो सम्मेलनमा पनि इस्लामका आस्था र उसका तौर तरिकाबारे बहस हुन्छ ।

उद्देश्य के हो ?
तब्लिगी जमातको तार्गेट इस्लामबाहेक अन्य धर्माबलम्बी होइनन् । उनीहरुको मुख्य उद्देश्य इस्लामको सही शिक्षा विस्तार र आस्थालाई पुनर्जिवन गर्नु हो । जो जन्मजात मुसलमान छन् वा जसले इस्लाम कबुल गरेको छ, उनीहरुलाई इस्लामका तौर तरिका अलवम्बन गराउनु उनीहरुको ध्येय हुन्छ ।

उनीहरुको चाहना हुन्छ, सबै मुसलमानले इस्लामिक विधिअनुसार जीवन यापन गरुन् । इस्लामका प्रवर्तक मोहम्मदकै बाटो अबलम्बन गरुन्, गलत बाटो नअपनाउन् । त्यसका लागि उनीहरु उपदेश दिन्छन् । गलत बाटोमा हिंडेको छ भने उसलाई प्यारपूर्वक धार्मिक लइनमा ल्याउन भरमगदुर कोशिस गर्छन् ।

उनीहरु चाहन्छन् सबै मुसलमानले बांचुन्जेल इस्लामका आस्थाहरु पूरापुर कार्यान्वयन गरुन् । इस्लामले निर्देश गरेअनुसार ५ पटक नमाज पढुन्, रमजानको महिनामा एक महिना रोजा (ब्रत) राखुन्, इमान्दार हुन्, सबैको सम्मान गरुन् र इस्लामले बर्जित गरेका गतिविधिबाट दूर रहुन् ।

उदाहरणका लागि टोलमा कोही व्यक्ति नमाज पढ्दैन भने तब्लिगी जमातको समुह उसको घरमै गएर सम्झाईबुझाई गर्छन् ताकी उ नमाजप्रति आकर्षित होस् । त्यसरी घरघरसम्मै गएर उपदेश दिने कार्यलाई गस्त (एक किसिमको धार्मिक उपदेश) भनिन्छ ।

उनीहरुमा त्यतिबेला खुसीको सिमा हुंदैन जतिबेला उनीहरुले बोलाएको व्यक्ति मस्जिद गएर संगै नमाज पढ्छ ।

के गर्छन् ?
तब्लिगी जमातले घर छाडेर टाढा टाढासम्म यात्रा गर्छन् । त्यस्तो यात्रामा ३ वा ५ जनादेखि माथिको समुह हुन्छ । उनीहरु ३ दिन, ४० दिन, ४ महिना, ७ महिना र एक बर्षको यात्रा तय गर्छन् । तोकिएका दिन पूरा गर्नुलाई चिल्ला पूरा गर्नु भनिन्छ । त्यस्तो यात्रामा सबै खर्च स्वयंले व्यहोर्छन् ।

कतिपयले खाना पकाउने भांडाकुंडादेखि ग्यास चुलो, ओढ्ने ओछ्याउनेसमेत आ आफ्ना देशबाटै बोक्छन् । यात्राअवधिभर उनीहरुको बसँई मस्जिद भित्रै हुन्छ ।
मस्जिदमै बस्नुको एउटा अर्थ के हो भने आफ्ना कारण गाउं वा मस्जिद वरिपरिका व्यक्तिहरुलाई डिस्टर्ब र दुःख नहोस् ।

मस्जिदमा पानी, शौचालय र कतिपय स्थानमा किचनसमेत उपलव्ध हुने भएकाले पनि उनीहरुलाई त्यहीं बस्न सहज हुन्छ । अर्को, उनीहरुले यात्रा सुरु गरेपछि समाजमा भइरहेका गतिविधि (राजनीति, मनोरन्जन, झैझगडालगायत) लाई चटक्कै भुलेर विशुद्ध इस्लामिक चर्यामा समय व्यतित गर्ने कसम खाएका हुन्छन् ।

तोकिएको दिन पूरा नहुन्जेलसम्म उनीहरुको बाहिरि दुनियांसंग कुनै मतलब र सम्वन्ध हुंदैन । खानेकुरा किन्न, औषधोउपचार र इस्लामिक उपदेश सुन्नका लागि घर घरमा बोलावट (दावत) का लागि मात्र मस्जिदबाट बाहिरिन्छन् ।

यात्राभरको खानालगायत भैपरी खर्च दामासाहीका हिसाबले व्यहोर्छन् र आलोपालो खाना पकाउंछन् । कपडा धुने र सरसफाई आ आफैं गर्छन् । मुश्किलले बिहान र बेलुका उपदेश सुन्ने दावत दिन उनीहरु मस्जिदबाट बस्तीहरुमा पुग्छन् ।

पंक्तिकारले पनि बाल्यकालमा जन्मस्थल गोरखामा तब्लिगी जमातका धेरै उपदेश सुन्ने अवसर पाएको थियो । मिठा परिकार बनाएर खुवाउने भएकाले बच्चाहरु उनीहरुप्रति आकर्षित हुन्थे । याद भएसम्म त्यस्ता तब्लिगीमा धेरैजसो पाकिस्तानी र भारतीय कम हुन्थे ।

कहांबाट आउंछन् ?
जानकारहरुका नेपालमा धेरै जसो तब्लिगी जमात पाकिस्तानबाट आउंछन् । पाकिस्तानमा तब्लिगी जमातप्रति आस्थाहरुको समुह ठूलो छ । त्यहांबाट युवादेखि वृद्धसम्मै तब्लीगमा हिंड्ने प्रचलन छ । विभिन्न पेशाकर्मी र सरकारी कर्मचारीलेसमेत विदा लिएर यात्रा तय गरेका हुन्छन् ।

पाकिस्तानबाहेक भारत, बंगलादेश, इण्डोनेशिया, मलेशिया, सिंगापुर, थाइल्याण्डलगायतका देशबाट पनि तब्लिगी जमात नेपाल आउंछन् । नेपालका मुसलमानहरु पनि भारत, पाकिस्तान, बंगलादेशलगायतका मुलुकमा तब्लिगमा जाने गरेको देखिन्छ ।

निर्धारित यात्रा अवधिभर कुनै निश्चित मस्जिदमा मात्र उनीहरुको बसोबास हुंदैन । सकेसम्म धेरै वटा मस्जिदमा गएर इस्लामिक उपदेश छर्ने ध्येय हुन्छ । समाजका अरु व्यक्तिहरुलाई पनि आफूजस्तै यात्रामा सामेल हुन अभिप्रेरित गराउने उनीहरुको अर्काे उद्देश्य हुन्छ ।

नेपालका तराइदेखि मध्यपहाड हुंदै हिमाली जिल्लामासमेत तब्लिगी जमात पुग्ने गरेको देखिन्छ । कुन् ठाउंमा जाने र कहां नजाने भन्ने कुनै लिखित सिस्टम छैन । मुसलमानहरुको एकाध घर भएका बस्तिमा पनि उनीहरु पुग्ने गरेका छन् ।

मुसलमानको स्थायी आवादी नभए पनि केही व्यापारी मात्र रहेको रसुवाको धुन्चेमा केही समय अघि पाकिस्तानी तब्लिगी जमात पुगेको देखिएको थियो ।

कसले गर्छ नेतृत्व ?
मस्जिदमा बसेको जमातमा जतिसुकै ठूलो समुह भए पनि उपदेश सुन्ने कार्यका लागि गरिने दावत (निमन्त्रणा) का लागि भने स साना समुहहरु खटाइएको हुन्छ । त्यो समुहले व्यक्तिहरुलाई घर घरमा गएर उपदेश सुन्न आह्वान गर्छन् ।

त्यस्तो समुहको नेतृत्व गर्ने जिम्मेवारी पनि एक जनालाई दिइएको हुन्छ । त्यस्तो व्यक्ति जोसंग इस्लाम सम्वन्धि ज्ञान छ उसैले त्यस्तो अवसर पाएको हुन्छ । समग्र जमातको नेतृत्व गर्ने व्यक्तिलाई अमिर भनिन्छ । कुनै निर्णय र आदेश गर्नु पर्यो भनै उसैमार्फत् हुन्छ । मस्जिदमा जम्मा भएका नयां व्यक्तिहरुलाई इस्लामिक उपदेश दिने काम पनि उनैबाट सुरु हुन्छ ।

अमिरबाहेक पनि सहायक अमिर र जानकारहरुले पनि इस्लाम र तौर तरिकाबारे व्याख्या गर्छन् । मुसलमानहरुका जीवन यापनलाई सही दिशानिर्देश गर्नेतिर नै उनीहरुको ध्यान केन्द्रित हुन्छ ।

उपदेश सुन्ने मात्र होइन, धेरै भन्दा धेरै व्यक्तिहरुले तब्लिग यात्राका लागि समय निकालोस् भन्ने तब्लिीगी जमातहरुको आकांक्षा हुन्छ । त्यसका लागि कुनै ठाउंको मस्जिद वा बस्तीमा एक पटक गरिएको दावत (आहन) पर्याप्त नहुने भएकाले तब्लिकी जमातको यात्रा निरन्तर चलिरहन्छ ।

समग्र समाजलाई असल बाटोमा हिंडाउन प्रयत्नरत भइराख्ने उनीहरुको नियत हुन्छ । निश्चित विषयवस्तुमा मात्र एकोहोरो केन्द्रित भइराख्ने भएकाले तब्लिगीहरुले कतिपय देशमा धार्मिक भेडाको संज्ञा पनि पाएका छन् । इरादा गरे गन्तब्यमा पुग्न सकिन्छ भन्ने विश्वासमा टेकेर यात्रा गर्ने गरेकाले उनीहरुले त्यो उपमा पाएका हुन् ।

याे लेख अब्दुल्लाह मियाँले कान्तिपुर दैनिकका लागि लेखेका हुन् । साभार

Related posts

दुई जना मात्रै यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारीमा सरकार

civilkhabar

आन्दोलन गरे कारबाही : गृह मन्त्रालय

civilkhabar

संयुक्त विद्यार्थी सङ्गठनको बैठक चल्दै

civilkhabar

Leave a Comment