मोहसिन अलि मियाँ
गोरखा । गोरखाको धावाका एक पुरुषमा स्वास्थ्य समस्या देखिएको छ । चैत ९ गते भारतबाट आएका भीमसेन थापा गाउँपालिका ४ का ति पुरुषमा हिजोदेखि सुख्खा खोकी र श्वासप्रश्वासमा समस्या देखिएको स्थानीयले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपनि परिवारले उनलाई अस्पताल ल्याउन भने सकेको छैन । सोमबार अस्पताल ल्याउने तयारी गर्दा स्थानीय एम्बुलेन्सले बोक्न नमानेपछि घरमै बस्न बाध्य भएको परिवार स्रोतले सिभिलखबरलाई बतायो ।
‘सुख्खा खोकी र सास फेर्न गाह्रो भएपछि अस्पताल जाने भनेर बोर्लाङ हेल्थ पोष्टको एम्बुलेन्स बोलायौ’ परिवार स्रोत भन्छ ‘हामी बरु जागिर छोड्छौ तर यस्तो बेला बिरामी बोक्न सक्दैनौ भनेर ड्राइभरले भन्नुभयो, के गर्ने अहिले घरेलु उपचारमै छौ ।’
स्वास्थ्यमा समस्या भएपनि हाल उनि परिवारका अन्य सदस्यसंगै बस्दै आएका छन् । बस्ने घर साँघुरो भएका कारण अरु विकल्प समेत नभएको परिवार स्रोत बताउछ ।
गत ९ गते दिल्लीबाट ट्याक्सी रिजर्भ गरी ति पुरुष घर आएका थिए । भारतबाट आएको केहि दिनपछि उनलाई ज्वरो समेत आएको बताइएको छ तर हाल ज्वरो भने नरहेको तर श्वासप्रश्वास र सुख्खा खोकी देखिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले सिभिलखबरलाई बताए ।
‘उहाँलाई मैले केहि दिनअघि पनि भेटेको थिए, पहिला ज्वारो थियो अहिले त्यो चाहि सञ्चो भएर खोकी र श्वासप्रश्वासमा समस्या देखिएको छ’ स्वास्थ्य शाखा प्रमुख खनालले भने ‘हिजो गएर सुझाव सहित औषधीहरु हामीले छोडेर आएका छौ ।’
भारतबाट नेपाल आउदा बाटोमा पानीले भिजेका कारण पनि स्वास्थ्यमा समस्या आएको हुन सक्ने खनालको अनुमान छ ।
तर उनलाई समस्या देखिएपछि जिल्ला अस्पतालसम पु¥याउन समेत एम्बुलेन्स नमानेपछि थप जटिलता पैदा भएको स्थानीयको गुनासोे छ ।
‘अब अरु कारणले बिरामी भएपनि घरमै मनुपर्ने अवस्था आउला जस्तो छ’ नाम नबताउने सर्तमा सिभिलखबलाई एक स्थानीयले भने ‘एम्बुलेन्सवालाहरु ज्वरोको बिरामीलाई नबोक्ने भन्छन्, बिरामी नबोक्ने एम्बुलेन्स के काम अब ?’
यता गाउँपालिका अध्यक्ष इश्वर पाण्डे भने एम्बुलेन्सले बिरामी बोक्नु पर्ने बताउछन् ।
‘हिजो चालकले बिरामी ल्याउन मानेन रे भन्ने कुरा मैले पनि सुनेको हो, त्यसलगत्तै एम्बुलेन्स सञ्चलक समितिका अध्यक्षलाई मैले फोन गरेर चालकलाई सुरक्षा गर्न के चाहिन्छ हामी दिन्छौ तर बिरामी अस्पतालसम्म पु¥याउनु प¥यो भनेको हो’ अध्यक्ष पाण्डेले भने ‘यस्तो बेला एम्बुलेन्सले गैरजिम्मेबार कुरा गर्न मिल्दैन, उनिहरुको सेफ्टीमा हामी गम्भिर छौ ।’
धावाका ति पुरुषसंगै चैत ९ गते दिल्लीबाट ६ जना आएका थिए ।
उनिसंग आउनेमा भीमसेन थापा गाउँपालिका ४ का अर्का १ जना, वडा नम्बर २ का २ जना, आरुघाट गाउँपालिकाका १ जना र धादिङ खहरेका १ जना रहेको बताइएको छ ।
तर हाल अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ ।
यता गाेरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल भने आफुलाइ धावाकाे समस्याबारे रिपाेर्टिङ नआएकाे बताएका छन् ।