प्रदेश ३ समाचार समाज स्वास्थ्य

विदेशबाट आएका निस्फिक्री हिँड्दा स्थानीय त्रसित

कोरोनाबाट बढी संक्रमित भएको देशबाट आएका मानिस क्वारेन्टिनमा नबसी निस्फिक्री हिँडिरहँदा संक्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन्।

कोरोना भाइरसको संक्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा १० जना छन्। तीमध्ये बढी प्रभावितमध्येको फ्रान्सबाट आएका मानिस क्वारेन्टिनमा नबसी बिना रोकतोक हिँडिरहँदा स्थानीयवासी त्रसित भएको वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए।

‘यसरी हिँड्नेका विषयमा महानगरीय वृत्त बौद्ध, नगरपालिका, जनस्वास्थ्य कार्यालय सबैतिर खबर गरेँ, तर क्वारेन्टिनमा राख्ने व्यवस्था भएन, बढी संक्रमित देशबाट आएकालाई समाजमै घुलमिल भएर बस्न दिए रोग फैलनेमा स्थानीयवासीको चिन्ता छ, मैले जोखिम मोलेर पटकपटक गएर भन्दा पनि डुल्न छाडेका छैनन्’ उनले भने।
खबर गरिएका कार्यालयका प्रमुखले लक्षण देखिए मात्र लैजाने भनेकाले पनि त्यस बेलासम्म संक्रमित भएको भए अरुलाई सर्ने चिन्ता बढेको वडाध्यक्ष पण्डितको गुनासो छ। सञ्चारमाध्यममा विदेशबाट फर्किएका जति क्वारेन्टिनमा राखिएको भनी प्रसारण गरिए पनि आफ्नो वडामा भने त्यस्तो हुन नसकेको उनको भनाइ छ। अध्ययन गर्न भारत, दुबई गई फर्किएका विद्यार्थी भने घरमै क्वारेन्टिनमा बसेका छन्। बाहिर निस्की रहनेकहाँ वडाध्यक्ष पण्डित दिनमा एकपटक पुगेर सम्झाउने गरे पनि घरमै क्वारेन्टिनमा बस्न मानेका छैनन्।

वडाको गतिविधि हेर्दा सञ्चारमाध्यममा कोरोनाको तयारीका सन्दर्भमा आउने गरेका समाचार सबै गफ रहेछन् भनी मान्नुपर्ने निष्कर्षमा आफू पुगेको स्थानीयवासी श्रीकृष्ण ज्योतिको दुःखेसो छ। ‘वडामा विदेशबाट आएर घुमिरहनेलाई जिम्मेवार निकायले नियन्त्रणमा लिन नसक्दा संक्रमण फैलन सक्ने देखियो, कसैले कसैलाई जोगाउने देखिएन, भगवान् पशुपतिनाथको कृपाले बाँचियो भने मात्र हो, हिँड्नेलाई लकडाउनले पनि रोक्न सकेन’ उनले भने।

विदेशबाट आई वडा नं २ को कार्यालय नजिकैको टहरामा बस्ने दुई जना मानिस बेलगाम हिँडिदिँदा वरपरका स्थानीयवासी भयमा बाँच्न बाध्य छन्। विश्वमा फैलिएको हेरेर पनि पाठ नसिके भयावह अवस्था आउनेतिर बेलैमा सचेत हुनुपर्ने स्थानीयवासीको माग छ।

संक्रामक रोग ऐनअनुसार यसरी निस्कनेलाई जेलसम्म हाल्न सकिने व्यवस्था भए पनि प्रहरीले समेत गम्भीररूपमा नलिएको जनप्रतिनिधि र स्थानीयवासीको भनाइ छ। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की गोकर्णेश्वर–२ को विषयमा प्रहरीमा सूचना आएपछि स्थलगतरूपमै पुगेर घरमै क्वारेन्टिनमा बसिदिनुस्, परिवारमा पनि घुलमिल नहुनुस् भनी सम्झाएको बताउँछन्।

‘बौद्ध वृत्तले हेर्ने क्षेत्रमै अहिलेसम्म ५८ मानिस विदेशबाट आएका रहेको तथ्यांक संकलन गरेका छौँ। ६ जना त कतारबाट आएको उडानकै मानिस छन्, यहाँका हरेक वडामा विदेशबाट आएका मानिस छन्, सबैलाई क्वारेन्टिनका लागि टेकुमा लगे त्यहाँ रोग देखिएर उपचार गरिरहेकाका लागि पनि अप्ठ्यारो हुन्छ भन्ने निर्देशन आएको छ’ उनले भने।

नगरपालिकाले तयारी गरेको क्वारेन्टिन एवं एकान्तवास (आइसोलेसन) मा लैजानसमेत कसैले पहल नगरेकामा नयाँपाटीका स्थानीयवासी रुष्ट छन्। नगरपालिकाले यसअघि नै २७ शय्याको क्वारेन्टिन र एकान्तवासका लागि तयार राखेको समाचार सार्वजनिक भएको थियो।

नगरपालिकाले क्वारेन्टिन र एकान्तवासमा राखिने संक्रमण हुनसक्नेको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सुवास प्याकुरेलको नेतृत्वमा नौ सदस्यीय चिकित्सक समूहसमेत गठन गरेको छ। समूह संयोजक प्याकुरेल विदेशबाट आएकाको विषयमा सूचना लिएर फोनबाट के भइरहेको छ, लक्षण केही छ कि भनी दैनिक सम्पर्क गरिरहेको बताउँछन्। ‘विदेशबाट आई नगर क्षेत्रमा बसिरहेका १७ जना कोरोनाको उच्च जोखिममा रहेकाले निरन्तर सम्पर्क गरी आवश्यक परे क्वारेन्टिन र एकान्तवासमा लैजाने गरी तयारी गरिरहेका छौँ’ उनले भने।

नगर क्षेत्रमा चार वटा अस्पताल रहेकाले आवश्यक देखिएमा लगेर राख्न सकिने नगरपालिकाको चिकित्सक समूहले जनाएको छ। कतार एयरवेजबाट आएका नगरपालिकाको वडा नं ६ का एक जना घरकै क्वारेन्टिनमा नबसी हिँडिरहेपछि प्रहरीले लगी एकान्तवासमा राखेको छ।

अहिलेसम्म विदेशबाट आउनेमा मात्र कोरोना भाइरस देखिएकाले शंकास्पद मानिसलाई समयमै अलग्गै राख्ने व्यवस्था नगरेपछि पश्चात्तापबाहेक अरु गर्न नसकिने भएकाले सावधानी अपनाउनुपर्ने स्थानीयवासी नारायणभक्त श्रेष्ठ बताउँछन्। विदेशबाट आई नयाँपाटीमा हिँडिरहेकाप्रति प्रहरी पनि चिन्तित भएको आफूले पाएको उनले बताए।

वडासदस्यसमेत रहेएका स्थानीयवासी कृष्णहरि श्रेष्ठ छुट्टै कोठामा बसेर एउटै भान्सामा खाना खाँदा पनि संक्रमण फैलन सक्ने भएकाले अलग्गै खानपिन गर्नसमेत सल्लाह दिएको बताउँछन्।

समाचार नेपालखबर डटकममा छ ।

Related posts

विप्लव समूहका नेताहरु पार्टी छाडेर जसपामा प्रवेश

civilkhabar

आमा—छोरा सँगै कक्षा १२ को परीक्षामा

civilkhabar

गण्डकी प्रदेशमा कोरोनाबाट सबै भन्दा बढी प्रभावित जिल्ला कुन ?

civilkhabar

Leave a Comment