प्रदेश ६ विचार

अछामी मियाँ र रोचक किस्साले भरिएको अछाम

गोकर्णप्रसाद उपाध्याय

कर्णाली, बुढीगंगा र सेती नदीले बनाएको टापूजस्तै लाग्छ अछाम। अछामका बारेमा रोचक किस्साका पनि पहाडै छन् जस्तो लाग्छ।

आधिकारिक तथ्यांक दिने भरपुर कोशिसका साथ यहाँ केही किस्सा, केही तथ्य खोतल्ने प्रयास गरिएको छ।

२०१३ सालमा तत्कालीन राजा महेन्द्रको डोटीमा सवारी हुँदा केही सचेत अछामी जनताले राजाको घोडसवारीलाई रोके अरे! त्यसपछि राजासामु अछाममा सरकारी अड्डाको माग गरे। २०१४ सालको पुस-माघतिर राजाको हुकुमबाट बझाङबाट एकजना सुब्बा झिकाएर मंगलसैनमा माल अड्डा बस्यो। पछि त्यही सदरमुकाम भयो।

हुन त सदरमुकाम कहिले बयालपाटा सारियो, कहिले मंगलसैनमै छाडियो। बुढापाकाहरू भन्छन्- एक पटक त कालागाउँमा समेत पुर्‍याइयो। 

पहिले अछामको बेग्लै अस्तित्व थिएन। कारण, आधा खण्ड अछाम दैलेख र आधा डोटी जिल्ला मातहत थियो। सिमाना कैलाशखोला। २०३२ सालपछि दुवै खण्ड जोडिएर अछाम अहिलेको स्वरूपमा पूर्ण जिल्ला बन्यो।

रोचक कुरा के भने अछामको वलीगाउँमा वली छैनन्, रावलको बाहुल्यता छ। खाती गाउँमा खाती छैनन्, भूल जाति बढी बस्छन्। कैलाशखोला मास्तिर बोगटी गाउँमा बोगटी थरका कोही छैनन्।

केही समय पहिलेसम्म अछाममा घरको छानामाथि बस्न नहुने, दुई तलाको घर बनाउन नहुने जस्ता मान्यता पनि अभ्यासमा थिए। कतैकतै ओखल राख्नु हुन्छ, ढिकी राख्नु हुँदैन भन्ने प्रचलन थियो।

अछामी मियाँः

अहिले पो नेपालीहरू रोजगारीका लागि विदेशिन थाले। इतिहासको कुनै कालखण्डमा तत्कालीन नेपालको आर्थिक बैभव, सांस्कृतिक सौन्दर्य, धार्मिक सहिष्णुता र भौगोलिक विविधताले सुरक्षा, रोजगारी र बसोबासका लागि विदेशीहरू नेपाल आउँथे। बोन्पोहरू चीनबाट, हायु श्रीलंकाबाट, थारू थार मरूभूमिबाट, लिच्छविहरू भारतको वैशालीबाट र मुसलमानहरू भारतकै विभिन्न ठाउँबाट विभिन्न कालखण्डमा नेपाल आउनुले त्यसको पुष्टि गर्छ।

विभिन्न कालखण्डमा नेपाल भित्रिने मुस्लिम समुदायलाई काश्मिरी मुसलमान, पहाडे मुसलमान र तराइबासी मुसलमान गरी तीन वर्गमा बाँड्न सकिन्छ। विशेषता सबैका आ-आफ्नै।

काश्मिरबाट आई काठमाडौं आसपास बस्ने काश्मिरी मुसलमानको उद्देश्य व्यापार थियो। मुस्लिमहरूमध्ये शक्तिको प्रयोग गर्न सक्ने समुदायको रूपमा चिनिने काश्मिरी मुसलमानको व्यापारसँगै राज्यसत्तामा पनि पहुँच राम्रै मानिन्थ्यो।

चौधौं-पन्ध्रौं शताब्दीतिर नेपाल आएका पहाडिया मुसलमान बाइसे-चौबिसे राज्यका दरबार वा कोट नजिक बसे। दरबार नजिक सुरक्षा व्यवस्था राम्रो हुने, आर्थिक गतिविधि र व्यापार समेत हुने भएकाले उनीहरू उर्वर ठाउँको खोजीमा गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दैलेख, अछाम र बाजुरा जस्ता पहाडी जिल्ला पुगे।

नेपालमा कुल मुसलमानमध्ये पहाडिया मुसलमानको संख्या तीन प्रतिशत मात्र छ। बारूद, बन्दुक, हातहतियार बनाउने सैनिक सीप। मूर्ति कुँद्ने, कलात्मक तथा सौन्दर्य सीप। कृषि औजार, भाँडाकुडा बनाउने सीप। सबै सीपमा पोख्त हुनुले पनि उनीहरूलाई दरबार नजिक राख्न सघायो।

तराइका मुसलमान नेपाल प्रवेश गरेको ठोस प्रमाण पाइँदैन। यद्यपि भारतका मुस्लिम समुदाय जत्तिकै पुरानो इतिहास उनीहरूको पनि रहेको मानिन्छ। 

पुरानो सदरमुकाम बयालपाटा (साविकको चण्डिका गाविस, हालको साँफेबगर नगरपालिका) मा पहाडिया मुस्लिम समुदाय बसोबासरत छ। लखनउबाट सात-आठ सय वर्षअघि राजा रजौटाकै पालामा चुरा बेच्न, साजसज्जाका काम गर्न आएका। समय फेरिएसँगै पुर्ख्यौली पेसा फेरिएको छ। गुजारा गर्न मुश्किल पर्दैछ। त्यसैले तराइ झर्दैछन्, कामका लागि विदेशिदै छन्। 

बयालपाटाका २५–२६ परिवारका दुई सयजति पहाडिया मुसलमानको भाषा, लवज न पूरै मुस्लिम छ न नेपाली। पूरै अछामी पनि छैन।

भन्छन्, ‘खास भाषा चुरेटा हो।’

घरमा त्यही बोल्छन्। कार्यालय जाँदा नेपाली। स्थानीयसँग अछामी। उनीहरूको भाषालाई मियाँ पनि भनिन्छ। भाषासँगै गाउँको नाम पनि फेरिएको छ। पहिले चुरा बेच्नेहरूको गाउँबाट राखिएको चुडेली गाउँ नाउँ राखिएको थियो, अहिले मियाँपुर भएको छ।

हिन्दू, मुस्लिमबीच मित्रता, सहिष्णुता र सम्मान छ। त्यसैले गाउँको नाम मुस्लिम शब्द मियाँ र हिन्दू शब्द ‘पुर’ मिसाएर मियाँपुर भएको। हृदय हेर्नुहोस् व्यक्तिका नाम हिन्दूबाटै लिइएका सुरज मियाँ, गीता मियाँ।

श्रमको सम्मानः

स्थानीय स्तरमै रोजगारी अवसर भए पनि आफ्नै ठाउँमा काम गर्ने संस्कार नहुनु नेपालीको साझा बिडम्बना हो। अछाममा त ‘बम्बई’ जाने संस्कृति नै छ।

अलि पहिले दातृ निकायको सहयोगमा साँफेबगर मंगलसैन सडक बन्यो। मुआब्जा लिँदा रूख-बिरूवा समेत छोडिएन। बाँसको बोटको एक सय रूपैयाँ। केराको बोटको पाँच सय, आँपको हजारौं, यस्तै यस्तै।

दाता वा ठेकेदारहरूले रोजगारका लागि बोलाउँदा स्थानीयहरू मुआब्जा बुझेर बार्दलीमा बसेर बाहिरिया कामदारले बाटो खनेको हेरिरहे। हालै मंगलसैन नगरपालिकाको पौने पाँच करोडको भवन बन्यो तर स्थानीयले ढुक्कले स्वतस्फूर्त काम गरे भन्ने सुनिएन।

योजना जतिसुकै ठूला र काम जति उपलब्ध भए पनि स्थानीयले जिल्लामै काम गरेको आक्कल झुक्कल देखिन्छ। मंगलसैन बजारमा बनिरहेको सडक सल्यान र सिन्धुपाल्चोकतिरका कामदारले बनाए। मंगलसैन दरबार टीकापुर र बर्दियाका कामदारले ठड्याए। ठेक्का भएको तीन वर्षसम्म कालागाउँ स्वास्थ्य चौकीले गति नलिएपछि बर्दियाबाट कामदार झिकाइयो। अनि बल्ल फटाफट बिल्डिङ तयार भयो भन्छन् स्थानीय।

युवाहरू ३०-४० हजार ऋण काढेर भारत जाने। केही महिना उता काम गर्ने। ५०-६० हजार ल्याएर फर्किने। ऋण तिर्ने। रमाइलो गर्ने। पैसा सकिन्छ, फेरि भारत। यो चक्र चलिरहन्छ, परम्पराकै रूपमा।

छ सय किलोमिटर टाढा बुटवलका मान्छे आएर विनायक बजार, मंगलसैन जताततै व्यापार गरिरहेछन्। उनीहरू सम्भावना देखेर आए, व्यापार गरे। अन्यत्रका कामदार पनि काम देखेर आए, श्रम गरे। तर स्थानीयहरू जिल्ला छोडेर अन्यत्रै जान रूचाउँछन्।

अछाममा एड्सः

कुनैबेला अछामको पर्याय एड्स थियो। एड्सले आक्रान्त। अछामलाई यस अवस्थामा पुर्‍याउने मूल कारक थियो बम्बई। बहुसंख्यक अछामी काम गर्न बम्बई जाने, केही त्यहाँका वेश्यालयमा पुग्ने र फर्किँदा एड्स चिनो ल्याउने। श्रीमतीलाई मात्र होइन, सन्तानलाई समेत सर्थ्यो।

सन् १९८८ मा नेपालमा पहिलो पटक एड्स संक्रमित फेला परेपछि २०२० सम्म करिब ३० हजार संक्रमित भए। छ सय ९३ जना अछामका।

आर्थिक वर्ष २०६४/६५ मा अछाममा तीन सय ४३ जनामा एचआइभी संक्रमण देखिएकोमा २०७६/७७ सम्म आइपुग्दा घटेर २८ जनामा भयो। तर संक्रमण रोकिएको छैन। एक सय ९२ अछामीले एड्सकै कारण मृत्युवरण गरे। अज्ञानता, लाज, लाञ्छना, पहुँच र अभावका कारण कैयौंको विवरण आएन होला। एड्सले दिएको कहालीलाग्दो मानसिक, सामाजिक पीडा र स्वास्थ्य संकट अछामीले अझै बिर्सिएका छैनन्।

केही आर्थिक सामाजिक तथ्यांकः

बुढीगंगा, माथिल्लो कर्णाली र बेतन कर्णालीजस्ता जलविद्युत आयोजना निर्माणाधीन भए पनि २१ प्रतिशत अछामी मात्रै बिजुलीको उज्यालोमा बस्न पाएका छन्। बयालपाटा अस्पतालको अध्ययनअनुसार २७ प्रतिशत अछामी जनताले स्वास्थ्य सेवा लिन आफ्नो अत्यावश्यक खर्च कटौती गर्नुपर्छ।

स्वास्थ्य कार्यालय भन्छ- २६ प्रतिशत सुत्केरीले घरमै बच्चा जन्माउँछन्। १४ प्रतिशत महिला २० वर्षभन्दा पहिले गर्भवती हुन्छन्। २० वर्ष नपुगी विवाह गर्न मिल्दैन तर २० वर्ष नपुगी विधवा हुने पनि सयौं छन्।

अछाममा पहिले ५५ प्रतिशत रहेको वनक्षेत्र सन् २०१५ को सर्वेक्षणले ६२ प्रतिशत भएको देखाउँछ। एक सय ६६ ओटा कबुलियती वन छन्, चार सय आठ सामुदायिक वन। सुदूरपश्चिमी पहाडमा कायम हलिया प्रथा २०६५ मा उन्मूलन भएसँगै सबभन्दा कम हलिया भएको जिल्ला अछाम हो।

२०७७ सालमा दुई सय १२ जना हलिया मात्र छन्। केही आर्थिक सामाजिक सूचकबाहेक प्रकृति होस् चाहे संस्कृति, अछाम सुन्दर छ। सम्भावनायुक्त छ। रोचक छ। आशावादी अछामी मियाँसँगै सारा अछामबासीलाई मिठो सम्झना सहित उन्नतिको शुभकामना।

गोकर्णप्रसाद उपाध्याय

(उपाध्याय अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी हुन्। हाल उनी धादिङका सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्। उनले याे लेख सेताेपाटी डटकमका लागि लेखेका हुन् । ) साभार

Related posts

को हुन् तब्लिगी जमात ?

civilkhabar

नेपालमा अमेरिका, भारत र चीनको चासो

civilkhabar

के हो ‘लक डाउन’ ?

civilkhabar

Leave a Comment