शिक्षा समाचार

गाभिएका स्कुललाई छैन बजेट

उपलब्धभन्दा कैयौँ गुणा बढी रकम वितरण गर्नुपर्ने भएपछि एक आपसमा गाभिएका विद्यालयलाई प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम अन्योलमा परेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विगत वर्ष दुई वा दुईभन्दा बढी विद्यालय एक आपसमा गाभिएमा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको थियो । देशभरिबाट एक हजार २२७ तह गाभिएको भन्दै अनुदान मागका लागि आवेदन परेको थियो । केन्द्रसँग गत वर्ष यस शीर्षकमा ४७ करोड रुपियाँ थियो तर कोभिड–१९ का कारण सो रकम वितरण गर्न नसकिएपछि सो रकम फ्रिज भयो । यस कार्यक्रमलाई चालू आर्थिक वर्षमा पुनः निरन्तरता दिइएको छ । चालू आर्थिक वर्षका लागि २० करोड रुपियाँ विनियोजन गरिएको छ तर गाभिएका विद्यालय सबैलाई वितरण गर्न कम्तीमा दुई अर्ब ९२ करोड रुपियाँ आवश्यक पर्दछ ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले साना–साना विद्यालय सञ्चालन गर्नुभन्दा ‘बिग स्कुल’को अवधारणामा यो कार्यक्रम ल्याइएको बताउँदै भने ‘भएको रकमले सबैलाई वितरण गर्न पुग्दैन । के गर्ने र कसरी वितरण गर्ने ? बडो अलमलमा छौँ ।’

केन्द्र (साबिकको शिक्षा विभाग)ले गत वर्ष सार्वजनिक विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि तयार गरी २०७४ साल चैत मसान्तसम्म कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका दुई वा सोभन्दा बढी विद्यालय वा कक्षाहरू एक आपसमा समायोजन वा एकीकरण भएमा त्यस्ता विद्यालयलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने नीति अगाडि सारेको थियो । सोहीअनुरूप विद्यालयहरूसँग आवेदन माग गरिएको थियो । त्यसबीचमा रकम पाउने आशामा आवेदन दिएका विद्यालय एक आपसमा गाभिए । गाभिएका विद्यालयका शिक्षक तथा कर्मचारी कायम भएको विद्यालयमा व्यवस्थापन गरिए । केन्द्रका कर्मचारी गाभिएका कतिपय विद्यालय भवनमा सम्बन्धित पालिकासँग अनुमति लिएर नयाँ विद्यालय पुनः सञ्चालनसमेत हुन थालेको बताउँछन् ।

सामुदायिकबीच मात्र नभई संस्थागत विद्यालय सामुदायिक विद्यालयमा गाभिँदा पनि प्रोत्साहन रकम उपलब्ध गराइने कार्यविधिमा स्पष्ट व्यवस्था गरिएको छ । कक्षा ५ सम्मका संस्थागत विद्यालय सामुदायिक विद्यालयमा समायोजन भएमा २० लाख रुपियाँ, कक्षा ८ सम्मका लागि ३० लाख रुपियाँ र १२ सम्मका लागि ५० लाख रुपियाँ प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । सोअनुसार करिब ६० वटा संस्थागत विद्यालयले सामुदायिक विद्यालयमा गाभिएको भनी आवेदन दिएका थिए ।

त्यस्तै सार्वजनिक विद्यालय कक्षा ३ देखि कक्षा १२ सम्म तह हेरी कम्तीमा २५ लाख रुपियाँ र बढीमा ६० लाख रुपियाँ प्रोत्साहन अनुदान उपलब्ध गराउने घोषणा कार्यविधिमा गरिएको छ । अधिकांश प्राथमिक विद्यालय यसरी गाभिएर अनुदानका लागि आवेदन दिएका थिए ।

केन्द्रका कर्मचारी कार्यविधिमा विद्यार्थी, शिक्षक र कर्मचारी सङ्ख्याको मापदण्डका बारेमा स्पष्ट उल्लेख नहुँदा समस्या आएको बताउँछन् । उनीहरूका अनुसार तीन जना विद्यार्थी भएका विद्यालय गाभिँदा २५ लाख रुपियाँ दिइन्छ भने तीन सय विद्यार्थी भएकामा पनि उत्तिकै रकम उपलब्ध गराउनुपर्ने हुन्छ । समायोजन गर्दा कायम भएका विद्यालयमा साबिकका शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्नुपर्ने हुँदा भौतिक पूर्वाधारमा बाहेक जनशक्तिलगायतमा लागत घट्ने अवस्था देखिएको छैन ।

केन्द्रका महानिर्देशक अर्यालले सबैलाई रकम दिन नपुग्ने भएकाले कुनै न कुनै आधारमा रकम वितरण गर्नुपर्छ भन्नेमा छलफल भइरहेको बताउँदै भने ‘वितरण गर्नुपर्छ तर कुन विधिमा भन्ने कुरा नयाँ किसिमले तय गर्नुपर्छ ।’

Related posts

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जना कोरोना संक्रमित थपिए

civilkhabar

बलात्कार आरोपित पालुङटार ४ का वडाध्यक्ष कारागार चलान

civilkhabar

कोरोना संक्रमण घट्दै, नेपालमा निको हुने दर ९५ प्रतिशत नाघ्यो

civilkhabar

Leave a Comment