विचार

नेपालका प्रथम शहिद: लखन थापा मगर

-जीवन आले मगर

नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो । आफ्नो माता–पिताको जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र भएकाले लखनको वास्तविक नाम लक्ष्मणसिंह थापा राखिएको थियो ।

त्यतिवेला नेपालमा सर्वसाधारण जनताहरुले औपचारिक शिक्षा हासिल गर्नको लागि कुनै व्यवस्था नभएकाले लखन थापाले तेश्रो गोरखा राइफल्समा कार्यरत नातेदारको फेमिली क्वार्टरमा बसेर भारतको अलमोडामा शिक्षा हासिल गरी नेपाल फर्किएर वि.सं. १९११ मा पुख्र्यौली मगर पल्टन (पुरानो गोरख पल्टन)मा भर्ना भएका थिए ।

तत्कालिन समयमा नेपाली जनताहरु जंग बहादुर राणाद्वारा सुत्रपात गरिएको निरंकुश जहाँनिया शासनको जाँतोमुनि पिल्सिएर बस्नु परेको थियो । जंग बहादुरको अधिनायकवादी हुकुमी शासन विरुद्ध कोही कसैले ‘चुँ’ सम्म गर्न सक्ने स्थिति थिएन । निरंकुश राणा शासनबाट त्रसित नेपाली समाजमा ‘कालको औषधि छैन, हुकुमको जवाफ छैन’ भन्ने आहान नै चलेको थियो ।

नेपालमा जंग बहादुरको निरंकुश शासन रहेको वखत भारतमा अंगे्रजको औपनिवेशिक शासन कायम थियो । १० मे १८५७ ई.सं. को मेरठ गोलीकाण्डपछि भारतमा अंग्रेज  उपनिवेशको विरुद्धमा सैनिक विद्रोहको जन्म भयो । भारतीय स्वतन्त्रताको पक्षमा भएको विद्रोहले उग्र रुप लिएपछि भारतीय–अंग्रेज सरकारले सैनिक सहायताका लागि नेपालका प्रधानमन्त्री जंग बहादुर राणालाई पत्र लेख्यो ।

टेक बहादुर खत्रीद्वारा लिखित नेपालको सैनिक इतिहास पुस्तकमा लेखिए अनुसार ई.सं. १८५७ डिसेम्बर १० का दिन जंग बहादुर राणा स्वयम् २७ वटा नेपाली पल्टनको नेतृत्व गर्दै नौ हजार नेपाली सैनिकका साथ भारत प्रस्थान गरे । १० मार्चका दिन जंग बहादुर आफ्नो फौजसहित भारतको लखनउ शहर पुगेको भोलिपल्ट देखि नै अंगे्रज र नेपाली संयुक्त फौजले लखनउका विभिन्न स्थानमा फौजी कारवाही संचालन गरी भारतीय स्वतन्त्रताका निम्ति विद्रोह गर्नेहरुमाथि निर्ममतापूर्वक दमन गर्‍यो ।

पुरानो गोरखा पल्टनसंगै लखनउ पुगेका लखन थापा मगर लगायत नेपाली सेनाका जनप्रेमी व्यक्तित्वहरु यस घटनाबाट क्षुब्ध भए । जंग बहादुर राणाले भारतीय जनताद्वारा स्वतन्त्रता प्राप्तिका खातिर गरिएको आन्दोलनलाई दवाउन भारतीय अंग्रेजलाई सहयोग गरेकाले त्यतिवेला नै ‘जंग बहादुरले नेपाल म्लेच्छ (अंग्रेज) लाई बेच्यो भनी लखन थापाले उद्घोष गरेका थिए । स्वतन्त्रताको निम्ति भारतीय जनताहरुले गरेको कठिन संघर्ष र शहादतले लखन थापा मगर लगायतका जनप्रेमी व्यक्तित्वहरुमा राष्ट्रभक्तिको भावना जागृत भई जंग बहादुरको अत्याचारी शासन विरुद्ध संघर्षमा उत्रने दृढता पैदा भयो ।

जनविद्रोहको लागि उपयुक्त समयको पर्खाइमा रहेका लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपाली सेनाको क्याप्टेन भइसकेका थिए । तर पनि उनलाई नेपाली सेनाको जागिर जंगबहादुरको विरुद्ध जनएकताद्वारा विद्रोह गर्नको लागि वन्धन महसुस भएकाले पद र भौतिक सुविधाको कुनै प्रवाह नगरी वि.सं. १९२७ सालमा आफ्ना मित्र जयसिंह चुमीलाई साथमा लिई घर विदा लेखाएर सेनाको जागिर छाडी गोरखाको बुंकोट काहुले भंगारमा गए ।

जिवन आले मगर

विदा सकियो तर उनीहरु जागिरमा फर्केनन् र जंग बहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित बनाउने कार्यमा सक्रियतापूर्वक लागे । गोरखाको वुंकोट काहुले भङ्गारमा लखन थापा मगरले स्थानीय जनसमुदायको सहयोगमा एउटा बलियो किल्ला निर्माण गरेका थिए । किल्ला परिसरमा मनकामना माईको प्रतिकात्मक मन्दिर स्थापना गरिएको थियो । उक्त मन्दिरमा दिनहूँ पूजापाठ हुने गर्दथ्यो । लखन थापाले मन्दिरमा पूजापाठका निम्ति आएका जनताहरुलाई एकतावद्ध गरी जंग बहादुरको क्रुर शासन एवम् जनविरोधी कर्तुतहरुको बारेमा जानकारी गराउने र राजनीतिक चेतना प्रदान गर्ने कार्य गर्दथे ।

बाहिरी रुपमा धार्मिक कार्य भइरहेको भनी प्रचार गरिए पनि भित्र भित्रै जंग बहादुरको अत्याचारी शासन विरुद्ध जनमिलिसिया तयार गर्नेकाम जोडतोडले भै रहेको थियो । लखन थापाको सुमधुर बोलीबचन, तार्किक क्षमता र असल व्यक्तित्वले गर्दा छोटो समयमानै जंग बहादुरको विरुद्ध धेरै जनताहरु संगठित भैसकेका थिए ।

लखन थापाले त्यतिवेला संगठित जनतासामु ‘म सिद्ध लखन थापाको अवतार हुँ । जंग बहादुरले नेपाल म्लेच्छ (अंगे्रज)लाई बेच्यो । दुनियाँलाई त्राही–त्राही पारिरहेको छ । जंगबहादुरलाई हटाएर नेपालमा सुनौलो प्रजातान्त्रिक युग फिराउ भनी मनकामना माताले मलाई आज्ञा दिएकी छन्, लौ भाई हो तयार होऔँ’ भन्ने उद्घोष गरेर जंग बहादुरको दमन, अत्याचार र अन्याय विरुद्ध संगठित रुपमा आवाज वुलन्द गर्न जनताहरुलाई उत्पे्ररित गर्दथे ।

त्यतिवेला धर्म र देवी देवताप्रति आस्था र विश्वास प्रकट गर्ने तत्कालिन नेपाली समाजलाई जनविद्रोहको वृहत अभियानमा सरिक गराउन मनकामनाको प्रसिद्धिलाई पनि रणनीतिक रुपले उपयोग गरिएको थियो । लखन थापाको उक्त रणनीतिक उद्घोषले नेपाली समाजमा गहिरो प्रभाव पार्न सक्यो र जंग बहादुरको विरुद्धमा ठूलो जनमत सिर्जना गर्न सफलता प्राप्त गर्‍यो । मनकामना र सिद्ध लखन थापाको प्रसिद्धिलाई आफ्नो विद्रोही अभियानमा जनसमर्थन जुटाउन शहिद लखन थापाले रणनीतिक रुपमा प्रयोग गरेका थिए ।

एउटै नाम र थर भएका दुई जना लखन थापा मगर नामका व्यक्तित्वहरु नेपालको इतिहासमा चर्चित भएकाले नेपालीसमाजमा उनीहरु एकै व्यक्ति हुन् कि भन्ने भ्रम र अन्यौलता समेत रहेको पाइन्छ । तर उनीहरु फरक फरक व्यक्तित्व र योगदानको कारणले नेपालको इतिहासमा प्रख्यात रहेका छन् । मनकामना भगवतीको मन्दिरका प्रथम पुजारी सिद्ध लखन थापा मगर सत्रौं शताब्दीका रामशाहकालिन व्यक्ति थिए ।

त्यसैगरी जंग बहादुरको निरंकुशता विरुद्ध प्रथम जनविद्रोहको ज्वारभाटा सिर्जना गर्ने प्रथम शहिद लखन थापामगर उन्नाइसौं शताब्दीका जंगबहादुरकालिन व्यक्तित्व हुन् । वि.सं. १९३२ सालमा जंग बहादुरको शासनविरुद्ध एकतावद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा ग¥यो । यो नै जंग बहादुरको सत्ता विरुद्ध नेपाली जनताद्धारा घोषित पहिलो बैकल्पिक सत्ता थियो । इतिहासकार पदम जंग राणाका अनुसार लखन थापाले हात हतियार सहित पन्ध्र सय मानिसहरु एकत्रित  गरिसकेका थिए भने राजधानी गएर हमला गर्ने धम्की समेत दिएका थिए ।

जंग बहादुरको अन्त्य गरेर नेपालको शासन अधिकार हातमा लिई नेपालको इतिहासमा सुनौलो प्रजातान्त्रिक युग आरम्भ गर्ने लखन थापाको योजना थियो । तत्कालिन समयमा सर्वजित थापा क्षेत्री पिपलथोकमा बसी गोरखाको मुद्दामामिला हेर्दथे । उनले गोरखाको बुङ्कोटमा जंग बहादुरको शासन सत्ता विरुद्ध लखन थापाको नेतृत्वमा सशस्त्र जनविद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरे । यो सूचना पाएपछि जंगबहादुर क्रुद्ध भए ।

उनले लखन थापा लगायत उनका सहयोगीहरुलाई पक्रेर काठमाण्डौँ ल्याउन भनी कान्छा भाई धीर शमशेरलाई आदेश दिए । आदेश बमोजिम देवीदत्त पल्टनका सैनिकहरु गोरखा पुगी लखन थापाको किल्लालाई चारैतिरबाट घेरा हाले । देवीदत्त पल्टन र लखन थापाको नेतृत्वको विद्रोही सेनाबीच भिडन्त भयो । भनिन्छ त्यो विद्रोह दवाउन धीर शमशेरलाई पनि हम्मे हम्मे परेको थियो । अन्तमा विद्रोहीहरु पक्राउ परे ।

उनीहरुलाई बाँसको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौँ पु¥याईयो । इतिहासकार प्रमोद शमशेर राणाका अनुसार विद्रोहीहरु विरुद्ध थापाथली दरबारमा मुद्दा चलाइयो साथै वर्वरतापूवर्क कोर्रा हानी ठूलो यातना दिइयो । लखन थापा र उनका सहयोगीहरुलाई गोरखा बुंकोट स्थित उनीहरुकै किल्ला परिसरको मनकामना मन्दिर अगाडि स्थानीय जनसमुदायको उपस्थितिमा झुण्ड्याएर मार्ने फैसला भयो । तर राणा शासक सामुु उनीहरु झुकेनन् ।

लखन थापालाई राणाशासन विरुद्ध जनताहरुलाई राजनीतिक चेतना प्रदान गरेर जनसंगठन गरी राणातन्त्र विरोधी गतिविधि गरेको आरोपमा राजद्रोहको अभियोग लगाइएको थियो । देवीदत्त पल्टनका सैनिकहरुले मृत्युदण्ड सुनाइएका विद्रोहीहरुलाई गोरखा पु¥याए । वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । सँगसँगै अन्य विद्रोहीहरुलाई पनि बलीमा चढाईयो ।

भनिन्छ विद्रोही नेता लखन थापालाई त छाला समेत काढेर वर्वरतापूर्वक झुण्ड्याइएको थियो । नेपालको राजनीतिक इतिहासमा वि.सं. १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापाको नेतृत्वमा भएको विद्रोह नै राणातन्त्र विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो । जुन विद्रोहले जंग बहादुर राणाद्वारा स्थापित एकतन्त्रीय तानाशाही शासनको अँध्यारो कालरात्रीमा अधिकार विहिन अवस्थामा पिल्सिरहेका नेपाली जनताहरुलाई संगठित र राजनीतिक सचेतना प्रदान गरी पहिलो पटक प्रजातन्त्र प्राप्तिको विद्रोहमा सहभागी गराउने सफलता प्राप्त गर्‍यो । यो यस्तो ऐतिहासिक महत्वको विद्रोह बन्न पुग्यो जुन विद्रोहले राज्यसत्ता माथि अविछिन्न रुपले आफ्नो अत्याचारी र हुकुमी शासनको आधिपत्य कायम राखिराख्न चाहने जंग बहादुर राणाको मुटु हल्लाई दियो ।

जंगबहादुरको निरंकुश शासन विरुद्ध राजनैतिक दस्तावेज समेत तयार गरी जनताद्वारा बैकल्पिक सत्ता स्थापना गरेर अगाडि बढेको यो सशस्त्र विद्रोहलाई चानचुने मान्न सकिदैन । यस घटनाले नेपाली समाजमा राजनैतिक चेतनाको दियो बाल्ने र प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने काम गर्न सक्यो । त्यसैले यस विद्रोहका नायक लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गर्‍यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गर्ने निर्णय ग¥यो ।

हाल संघीयता कार्यान्वयन भए पछि शहिद लखन थापाको नाममा साविकको बक्राङ्ग, मनकामना, ताकलुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स मिलाएर शहिद लखन गाउँपालिका बनेको छ । निश्चय नै यो पदवी उनको बलिदानी पूर्ण त्याग र जनअधिकार स्थापनाका लागि गरेको कठिन संघर्षप्रतिको सम्मान हो । साथै यो सम्मान लोकतन्त्र र न्यायप्रेमी सम्पूर्ण नेपाली जनताहरुको गौरवको विषय पनि हो ।

सन्दर्भ स्रोतहरुः
१. आलेमगर, जीवन, नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर, काठमाडौँ, २०६४
२. खत्री, टेक बहादुर, शाही नेपाली सेनाको इतिहास, काठमाडौँ, वि.सं. २०४१
३. Rana, Pramod Shamshere, Rana Intrigues, Kathmandu, 1995
४.Rana, Pudma Jung, life of Maha Raja Sir Junga Bahadur, Re-printed, 1980

लेखक शहिद लखन गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत हुन । उनि साेही गाउँपालिकाका स्थायी बासिन्दा समेत हुन ।

साभार: शहिद लखन गाउँपालिकाकाे वेबसाइट

Related posts

यसरी व्यस्त राखौँ लकडाउनका बालबालिका

civilkhabar

किन मनाइन्छ, भ्यालेन्टाइन्स् डे ?

civilkhabar

अमेरिकाको आतंकवादी सूचीबाट हट्यो सुडान

civilkhabar

Leave a Comment